Logo

समाचार

काठमाडौंमा गणतन्त्र दिवसका दिन राजावादीको शान्तिपूर्ण प्रदर्शन



काठमाडौं । गणतन्त्र दिवसका दिन काठमाडौंको रत्नपार्कमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

बिहीबार दिउँसो २ बजेबाट सुरु भएको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, संयुक्त जनआन्दोलन समिति लगायतका समूह सहभागी थिए। प्रहरीले करिब ३५ सय प्रदर्शनकारी सहभागी भएको प्रारम्भिक अनुमान गरे पनि आयोजकहरूले भने दशौँ हजार संख्यामा सहभागी रहेको दाबी गरेका छन्।

यसअघि चैत १५ मा तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुईजनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए भने निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो।

रत्नपार्कको बिहीबारको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपाल अध्यक्ष कमल थापा, राप्रपाका सचेतक ज्ञानेन्द्र शाही, तथा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनमा सहभागीहरूले वर्तमान गणतन्त्र व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै राजतन्त्र पुनर्स्थापनाको माग गरे। सहभागीमध्ये धेरैले भ्रष्टाचार, बेरोजगारी र राष्ट्रियताको क्षय भएको भन्दै वर्तमान प्रणालीमाथि आक्रोश व्यक्त गरे।

बैतडी, दोलखा, नुवाकोट, मोरङ, हुम्लालगायत देशका विभिन्न भागबाट आएका प्रदर्शनकारीहरू स्वस्फूर्त रूपमा सहभागी भएको दाबी गरिएको छ।

राजावादी नेता तेजबहादुर रावतले आन्दोलन जारी रहने बताएका छन्। “जबसम्म राजतन्त्र पुनर्स्थापना हुँदैन, आन्दोलन जारी रहनेछ,” उनले भने।

प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ८ : ५२ बजे