Logo

मुख्य समाचार

आन्दोलनमा आएका राजावादीहरु भन्छन् : गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुले विहीबार काठमाडौंमा आयोजना गरेको आन्दोलन गणतन्त्र व्यवस्थाप्रतिको वितृष्णा भएको सहभागीहरुले बताएका छन् । 

बिहीबार काठमाडौँको विभिन्न स्थानबाट र्यालीसहित आन्दोलनमा सहभागी भएकाहरुले सरकारका कारण वाध्य भएर सडकमा आउनुपरेको बताए । उनीहरुले गणतन्त्र फाल्नका लागि सडकमा आएको प्रतिक्रिया दिए ।

आन्दोलनमा सहभागी रामकुमार रिजालले आन्दोलन राज्यले नै उत्पादन गरेको बताए । उनले देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएको बताए ।

उनले ‘राज्यले नै उत्पादन गरेको आन्दोलन हो यो । हामी सडकमा आउने चाहना थिएन् । तर वर्तमान सरकारले बाध्य बनाएर सडकमा आएका हौं । देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएका हुन् ।’

त्यस्तै जनकपुरका विक्रम झाले राजतन्त्र हुँदा नेपालमा स्वाधिनता भएको उल्लेख गर्दै गणतन्त्रले देश विगारेको बताए । उनले कृषिदेखि भौतिक तथा जिविकोर्पाजनमा समेत जनता सँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए ।

उनले भने, ‘राजतन्त्र हुँदा नेपाल थियो, नेपालको स्वाधिनता थियो । अहिले नेपाली विदेशिनु परेको छ । अहिले गणतन्त्रले देश विगारेको छ । गाँसवास कपासको लागि गाह्रो भएको छ । विद्यार्थीहरु १२ सक्किने वित्तिकै विदेशिन बाध्य छन् । त्यसैले गणतन्त्र फाल्नुपर्छ ।  राजा ल्याउन शुभ मुर्हत आइसकेको छ । नेपाली जनताले देखेका सपना पूरा हुनेछ ।’

त्यस्तै भक्तपुरका नानिराम लामिछानेले गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म साँस्कृति सबै नाश गरेको आरोप लगाए ।  यि सबै कुरा जिवित गर्न सडकमा आएको बताए ।

उनले भने,‘गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म संस्कृति सबै नाश भइसकेको छ । यि कुरा जिवित गर्नका लागि आन्दोलनमा आएका हौं । राजाका पालामा यस्तो थिएन् । अहिले अन्याय, अत्याचारले सीमा नाघिसकेको छ । यही आन्दोलनले राजतन्त्र पूर्नस्थापना हुन्छ ।’

बानेश्वरबाट सहभागी भएकी सस्मिता सुवेदीले हिन्दु धर्मको लागि एजेन्डा बोकेर सडकमा आएको सुनाइन् । उनले गणतन्त्रवादीहरुले दिएको दुःख, गरेको भ्रष्टचारका कारण नै सडकमा आउनुपर्ने बाध्यता रहेको बताइन् ।

अर्का सहभागी सोमराज सिंहले गणतन्त्रको नाममा भ्रष्टतन्त्र मौलाएको बताए ।  अहिलेको गणतन्त्रले देशलाई बेचिसकेको आरोप लगाए । 

झापा विर्तामोडबाट आएका देवी काफ्लेले गणतन्त्रवादीहरुले जनतालाई सहि गणतन्त्रको परिभाषा दिएको भए नेपाली जनता सडकमा आउने अवस्था नहुने बताए । उनले विकासका नाममा लुटतन्त्र फैलिएको बताए ।

राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरुको संयुक्त प्रयास भएको आन्दोलनकारीको भनाइ थियो । प्रदर्शनमा सहभागीहरुले हिन्दु ‘राष्ट्र कायम गर, राजसंस्था कायम गर, भ्रष्ट व्यवस्था चाहिँदैन्’ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ५२ बजे