काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको बताएका छन् ।
विहीबार काठमाडौंमा भएको आन्दोलनलाई सम्बोधन गर्दै उनले यो जनसागरले गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा देखाएको भन्दै जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको पनि प्रमाणित भएको बताए ।
उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन् । आज यो पनि प्रमाणित भएको छ ।’
सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेताहरुले जनतालाई शोषण गरेर ५–१० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेको अवस्थामा नेपाली जनता भने भोकभोकै बस्नु परेको बताए ।
उनले भने, ‘सारा नेपाली जनताले देखेका छन् यी सिमित केही नेताहरुले जनतालाई शोषण गरेर सम्पत्ति कमाएका छन् र आफ्ना परिवारका सदस्यहरु ५, १० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेका छन् । नेपाली जनता भने भोकभोकै बसिरहेका छन् ।’
प्रतिक्रिया