Logo

अर्थ

सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिने



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

विहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्यावरण र पदमार्गको विकाससँगै अन्य स्थानमा पनि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले भने, ‘निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिनेछ । सुक्लाफाँटा खप्तड, बर्दिया रारा, लुम्बिनी मुक्तिनाथ, सौराहा गोसाईकुण्ड, जनकपुरधाम, कालिन्चोक, कोशीटापु सगरमाथा, पाथीभरा पदयात्रा सञ्चालन गरिने छ ।’

यस्तै, उनले हिमाल आरोही र पदयात्रीको सुरक्षा, आकस्मिक उद्धारको व्यवस्था मिलाइने र होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत महसुलमा छुट दिने पनि बताए ।

उनले भने, ‘त्यस्तै, हिमाल आरोही र पदयात्रीको सुरक्षा, आकस्मिक उद्धारको व्यवस्था मिलाइने छ । होटल तथा रिसोर्टलाई उत्पादन मूलक उद्योग सरह आयकर तथा विद्युत महसुलमा छुट दिइने छ । होटल, मोटल, रेस्टुरेन्ट, जंगलसफारि लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरुको लागि सेवा शूल्कका माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिने छ ।’

आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने भन्दै आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाउने पनि उनको भनाई छ । आन्तरिक हवाइ पूर्वाधार सुधारका लागि ५० करोड विनियोजन गरिएको पनि उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ४७ बजे