काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी)को निमित्त महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा.जगदिश पाण्डेयलाई दिएको छ।
मन्त्रालयको निर्णयअनुसार पोखरास्थित पशु प्रजनन कार्यालयमा कार्यरत डा.पाण्डेयलाई संस्थानको नेतृत्वमा ल्याइएको हो ।
जेठ १५ गतेदेखि लागू हुनेगरी उनलाई डीडीसीको महाप्रबन्धकको जिम्मेवारी दिइएको हो। डा.पाण्डेयको नियुक्तिले संंस्थानको व्यवस्थापन सुधार र संस्थाको वित्तीय अनुशासन कायम गर्ने अनुमान गरिएको छ ।
त्यस्तै, मन्त्रालयले डीडीसीका कर्मचारीहरूलाई दिइँदै आएको दूध र घ्यू सुविधा पनि कटौती गरेको छ। अबदेखि कर्मचारीलाई दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू वितरण गरिने व्यवस्था खारेज गरिएको छ । मन्त्रालयका अनुसार यो निर्णय पनि जेठ १५ देखि लागू भएको हो।
मन्त्रालयका अधिकारीहरूका अनुसार डीडीसीले लामो समयदेखि दुग्ध किसानहरूलाई भुक्तानी दिन नसकेको र सरकारबाट लिएको ऋणसमेत फिर्ता गर्न नसकेको अवस्था आएकोले यस्तो निर्णय आवश्यक भएको हो। कर्मचारीका सुविधा भन्दा किसान भुक्तानीलाई प्राथमिकता दिनुपर्ने भएकोले यो निर्णय गरिएको हो,’ मन्त्रालयले भनेको छ ।
यसअघि मन्त्रालयले डीडीसी व्यवस्थापनसँग कर्मचारीहरूले लिइरहेको सम्पूर्ण सेवा र सुविधा विवरण मागेको थियो। अन्य घाटामा गएका सार्वजनिक संस्थानहरूले समेत यस्ता सुविधा कटौती गरेका उदाहरण प्रस्तुत गर्दै मन्त्रालयले निर्णय औचित्यपूर्ण रहेको स्पष्ट पारेको छ ।
डीडीसीमा नेतृत्व परिवर्तन, व्यवस्थापन सुधार, र किसान केन्द्रित कार्यप्रणालीको सन्देश दिन यो कदम चालिएको हो।


प्रतिक्रिया