काठमाडौं । १८ वर्ष अगाडि आजकै दिन जननिर्वाचित संविधानसभाको पहिलो बैठकले घोषणा गरेको गणतन्त्रप्रति आम नागरिकहरुले आक्रोश व्यक्त गरेका छन् ।
गणतन्त्र दिवसका अवसरमा सडकमा भेटिएका नागरिकहरुले गणतान्त्रिक व्यवस्थाले आम जनताको मन छुन नसकेको बताए ।
सङखुवासभा खादवारीका काजबहादुर घिमिरे देशमा गणतन्त्र आएपनि केही फरकपन नआएको बताउँछन् ।
गणतन्त्रले देशलाईपछि पारेको भन्दै उनले भने,‘नेताहरुले व्यवस्था अनुसार काम नै गर्न जान्नुभएन् । विदेशीको आड–भरोसामा नै बाँच्ने देशका शासकहरुका कारण गणतन्त्रको अनुभुति हुन पाएको छैन् । गणतन्त्र हुनुभन्दा राजसंस्था सहितको प्रजातन्त्र भयो भने हाम्रा भूभाग पनि फर्किन्छ । गणतन्त्रले सबैकुरा सिध्याइसक्यो ।’
उनले पटक पटक चुनावका वेला जनताले विश्वास गरेको भन्दै सत्तामा पुगेकाले जनताको मनोभावना बुझ्न नसकेको बताए ।
‘गणतन्त्र नेपालीले एक पटक स्वीकार गरेकै हो । सत्तामा पुर्याएको पनि हो । जनताले भोट पनि हालेकै हो । तर उहाँहरुको मनोभावना हप्काउने, डरत्रास देखाउने किसिमको भयो । चुनावको वेला अलि अलि पैसा खर्च गरेपछि भोट जितिन्छ भन्ने मानसिकता भयो ।’
यसैगरी अछाम घर भएका राजेश कुमार शाही अलि फरक मत राख्दै गणतन्त्रको विकल्प राजतन्त्र नहुने बताउँछन् । उनी भन्छन्,‘यो गणतन्त्र जनताको त्याग र वलिदानले आएको गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हुन्छ । राजतन्त्र हुन सक्दैन ।’
यसैगरी रामेछाप लिखुतामाकोशी गाउँपालिकाका जनप्रनितिधि समेत रहेका शिवप्रसाद न्यौपाने पनि राजतन्त्र नफर्किने र गणतन्त्रले नै जनभावना बुझ्ने बताउँछन् । उनी मरेका मान्छे फर्कनु र राजतन्त्र आउँछ भन्नु उस्तै हुने बताउछन् ।
‘नेपाली जनताको ठूलो वलिदानपछि गणतन्त्र आएको हो । यतिकै आएको होइन । साढे १७ हजार नेपाली दाजूभाइ मारिए, आमाहरुको कोख रित्तियो । ठूला राजनीतिक दल मिलेर गणतन्त्र आएको हो । अव राजतन्त्र आउनु भनेको दिवा सपना देख्नु हो । राजतन्त्र यो मुलुकमा आउदैन । जस्तै वितिसकेका आमाबुवा फर्केर आउँछ भन्ने परिकल्पना गर्ने मात्र हो, सपनामा मात्र देख्ने हो,’ उनले भने ।
प्रतिक्रिया