काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको विकल्प राजतन्त्र नभइ सुदृढ गणतन्त्र मात्र भएको स्पष्ट पारेका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमार्फत प्रधानमन्त्री बन्न चुनौती दिएका छन्।
अध्यक्ष नेपालले मुलुक सञ्चालनप्रति चिन्ता व्यक्त गर्नेहरूले प्रतिस्पर्धाबाट जनताको समर्थन जितेर अघि बढ्नुपर्ने बताए। “यदि मुलुक सञ्चालन गर्ने चिन्ता कसैलाई लागेको हो भने प्रधानमन्त्री भएर आउनू, चुनावको मैदानमा उत्रिनुहोस्, जनताको मन जित्नुहोस्,” उनले भने।
उनले राजतन्त्रको वकालत गर्दै वंशवादमा आधारित शासन प्रणाली स्वीकार्य नहुने बताए। “गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्र नै हो। वंशको शासन हामीलाई चाहिँदैन,” अध्यक्ष नेपालले भने।
कार्यक्रममा अध्यक्ष नेपालले इतिहासको पांग्रा पछि धकेल्न नदिने चेतावनीसमेत दिए। साथै, उनले हाल अरू पार्टीसँग एकताको सम्भावना नरहेको उल्लेख गर्दै कम्युनिस्ट पार्टी नै वैकल्पिक शक्ति हुने दाबी गरे। पार्टी निर्माणको अभियानमा दृढताका साथ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए।
प्रतिक्रिया