Logo

समाचार

गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क



काठमाडौं । मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पु¥याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरेको गणतन्त्र स्मारक पार्क सुनसान छ । सरकारी बेवास्ताका कारण पार्क वेवारिसे अवस्था पुग्ने चिन्ता छ । 

काठमाडौं महानगरपालिकाको नागपोखरी नजिक ३५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा घुम्न जानेको संख्या दैनिक ५० जनापनि पुग्दैन । थप लगानी गरेर पार्कलाई आकर्षक बनाउने, सुविधा थप गर्ने र प्रचार प्रसार व्यापक गर्ने सरकारको योजना पनि ओझेल परेको छ ।

सरकारी कार्यालय समयमा खुल्ने र बन्द हुने भएकाले पनि  स्मारकमा आवातजावत कम देखिन्छ । तर सरकारी अधिकारीहरु पार्क क्षेत्रमा अवलोकनकर्ताको संख्या बृद्धि भएको दावी गर्छन् ।

नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले पार्कभित्र विभिन्न फिल्म, टेलिफिल्म र गीतहरुको सुटिङ हुने गरेको एवम विद्यार्थी अवलोकन भ्रमणमा आउने गरेको बताए ।

‘पार्क प्रवेशका लागि न्यूनतम शुल्क निर्धारण गरेका छौं । स्वेदशी एवम विदेशी नागरिकलाई प्रतिव्यक्ति ५० रुपैंयाँ शुल्क लिने गरेका छौं ।  पार्कको आकर्षण भनेको शान्त वातावरण, ढुङ्गामा कोरिएको नेपालको संविधानको पुस्तक, आकर्षक बगैंचा, विशेष किसिमका बत्ती, सहिदका नाममा बनाइएका संरचनाले सबैलाई तानेको छ,’ थापाले भने ।

सर्बसाधारणको भीडभाड बढ्दै गएकाले बजेट थप गरेर संरक्षणको तयारीमा सरकार जुटेको उनले बताए । तर स्मारकभित्र राखिएका सामग्री, शिलालेख, मुर्तिहरु फोहोर देखिन थालेका छन् ।

सरकारी निकायका अधिकारीहरुले खर्च गरेअनुसार पार्कले सफलता प्राप्त गरेको दाबी गरेपनि स्थानीयबासी भने उपयुक्त ठाउँमा पार्क निर्माण नभएको स्थानीयबासीको भनाइ छ । 

शहरी विकास कार्यालयको भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण सुरु गरेको थियो । स्मारकको २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र स्मारक शिलान्यास गरेका थिए ।

तर स्मारक क्षेत्र हाल खुइलिएको, रंगरोकन मेटिएको, झारपातले जेलिन थालेको स्थानीयको भनाइ छ । तर पार्कको अवस्था हेर्दा गणतान्त्रिक सरकारलाई नै गणतन्त्र स्मारकले गिज्याइरहेको जस्तो लाग्छ । पार्कभित्र सिमित मात्रमा पर्यटक आउने गरेका छन् ।

गणतन्त्र स्थापना लगत्तै २०६५ सालमा ल्याइएको बजेटमा गणतन्त्र स्मारक बनाउन रकम विनियोजन गरिएको थियो । स्मारकमा गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको सम्झना गराउने तस्बिर, वस्तु र कलाकृति राखिएका छन् । ढुंगा खोपेर पुस्तकको आकार बनाइएको छ र त्यसमा ‘नेपाल संविधान २०७२’ लेखिएको छ । स्मारकमा १२ मिटर उचाइका चारवटा स्तम्भहरु छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ११ : ४७ बजे