काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले ‘दलतन्त्र’ को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि प्रहार गर्दा नागरिकका वास्तविक सरोकार ओझेलमा परेको बताएका छन् ।
बिहिबार गणतन्त्र दिवसको शुभकामना दिँदै उनले नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा गणतन्त्रको वास्तविकता ओझेलमा परेको बताएका हुन् ।
उनले भने, ‘दलतन्त्रको एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार गर्दा सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्ति अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमा परेका छन् ।’ उनले थप भने,‘नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा उनीहरूमा बढेको निराशा आक्रोशमा रूपान्तरण हुँदैछ, जुन व्यवस्थाको सुव्यवस्थित सञ्चालन र स्थायीत्व लागि शुभ होइन ।’
सरकारले प्रमुख दुई दलको सत्ता समीकरणको रसायन भनिएको संविधान संशोधनलाई नै रणनीतिक रूपमा ओझेलमा पारेको बताए । उनले गणतन्त्रलाई थप गतिशील बनाउन संवैधानिक सुधार अपरिहार्य भएको भन्दै यसतर्फ नेतृत्व गम्भीर हुनुपर्ने बताए ।
‘नागरिकले शासकीय स्वरुप र शैली तथा केही गणतान्त्रिक संरचनाप्रति व्यक्त गर्दै आएको असन्तुष्टिको सम्बोधनसहित गणतन्त्रलाई थप गतिशील बनाउन संवैधानिक सुधार अपरिहार्य भइसक्यो । यसतर्फ सरकार, राजनीतिक नेतृत्व र आमनागरिकको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ उनले भने ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको प्रतिशोधले गणतान्त्रिक मूल्य–मान्यता तथा राज्यका अगं र संरचनाप्रति नै चरम अविश्वास बढाएको पनि बताए ।
प्रतिक्रिया