Logo

मुख्य समाचार

नेपाल-चीन कृषि सहकार्य: कृषिमन्त्री अधिकारीद्वारा निर्यात सहजीकरणका लागि सिजाङ उपाध्यक्षसँग आग्रह



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालबाट चीनतर्फ कृषिजन्य वस्तुको निर्यात सहजीकरण गर्न चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वालाई आग्रह गरेका छन्।

बुधबार मन्त्रालयमा चीनको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीनबीच विगतदेखि कृषि क्षेत्रमा सहयोग हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा यो सहयोग अझ सशक्त हुने अपेक्षा व्यक्त गरे। उनले चिया, जडीबुटी तथा राँगोको मासु चीनमा निर्यात गर्न प्रक्रिया अघि बढेकोमा धन्यवाद ज्ञापन गर्दै जडीबुटी निर्यातको लागि दर्ता भएका पाँच कम्पनीलाई थप सहजीकरणमा सहयोग पुर्‍याउन अनुरोध गरे।

मन्त्री अधिकारीले सन् २०१९ मा हस्ताक्षर भएको सुन्तला जातका फलफूल निर्यातसम्बन्धी सम्झौता र २०२२ मा भएको घाँस निर्यातसम्बन्धी सम्झौताको कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन पनि आग्रह गरे।

जवाफमा उपाध्यक्ष डन वाले नेपाली चिया र जडीबुटीको माग चीनमा रहेको बताउँदै निर्यात सहजीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, सुन्तला जातका फलफूलको निर्यातका लागि भण्डारणस्थल निर्माणमा सहयोग गर्न सिजाङ सरकार तयार रहेको जानकारी दिए।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ८ : ३३ बजे