काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले सोधेको स्पष्टीकरण नदिने स्पष्ट पारेका छन्।
मेयर शाहको निजी जीवन र सार्वजनिक प्रतिष्ठामा आँच पुग्नेगरी विभिन्न सञ्चारमाध्यममा अभिव्यक्ति दिएको आरोपमा सचिवालयले मानन्धरसँग जेठ ८ गते स्पष्टीकरण मागेको थियो। तर अध्यक्ष मानन्धरले उक्त स्पष्टीकरण औचित्यहीन भएको बताउँदै अस्वीकार गरेका हुन्।
“मैले हालसम्म स्पष्टीकरण दिएको छैन, दिन्नँ पनि,” उनले भने, “म संचारमाध्यममा बोल्छु, त्यो मेरो काम हो। सुकुम्बासी र फुटपाथको विषयमा बोलेको छु, त्यसमा पनि स्पष्टीकरण माग्नुपर्ने हो त?”
उनका अनुसार आफू कार्यपालिका बैठक समेत बोलाउन नसक्ने अवस्थामा रहेको र सचिवालय यस्ता औचित्यहीन कार्यमा समय खर्चिरहेको बताए।
यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। त्यसको केही समयमै मेयरको निर्देशनमा प्रवक्ता समेत रहेका मानन्धरलाई सात दिनभित्र जवाफ दिन भन्दै सचिवालयले पत्र पठाएको थियो।
महानगरपालिकाभित्रको आन्तरिक विवाद पछिल्लो समय झन् चर्किंदै गएको देखिन्छ।
प्रतिक्रिया