Logo

समाचार

सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्षमा बढाउने



काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धभत्ता पाउने उमेर सीमा पुनः ७० वर्षमा बढाउने निर्णय गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि ७० वर्ष पुगेका नागरिक मात्र वृद्धभत्ता पाउने व्यवस्था लागू हुनेछ।

हाल ६८ वर्ष पुगेका नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन्। तर, नयाँ व्यवस्था लागु भएपछि नयाँ लाभग्राहीले मात्र ७० वर्ष उमेर पुगेपछि भत्ता पाउनेछन्। हाल भत्ता पाइरहेका लाभग्राहीको सेवा भने निरन्तर रहनेछ।

सामाजिक सुरक्षामा खर्च अत्यधिक बढेपछि सरकारले दायित्व घटाउन उमेर सीमा बढाउने निर्णय गरेको हो। आर्थिक वर्ष २०७३/७४ मा सामाजिक सुरक्षामा ७.३ प्रतिशत चालु खर्च भएकोमा २०८०/८१ मा यो हिस्सा १९.६७ प्रतिशत पुगेको छ।

अर्थ मन्त्रालयका तथ्यांक अनुसार २०८०/८१ मा सरकारको कुल अनिवार्य दायित्व खर्च ११ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी रहेकोमा सामाजिक सुरक्षा र सहायता शीर्षकमा मात्र २ खर्ब २६ अर्ब रुपैयाँ खर्च भएको छ।

हाल कर्णाली अञ्चलका नागरिक र देशभरिका दलित नागरिकले ६० वर्षदेखि भत्ता पाउँदै आएका छन्। त्यस्तै, ६० वर्ष पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएकाहरू र पतिको मृत्यु भएका जुनसुकै उमेरका महिलाले समेत मासिक २ हजार ६६० रुपैयाँ भत्ता पाउँछन्।

सरकारले २०७९/८० मा वृद्धभत्ता पाउने उमेर सीमा ७० वर्षबाट घटाएर ६८ वर्ष पुर्‍याएको थियो। तर, हाल पुनः पुरानै ७० वर्षको सीमा लागू गर्न लागिएको हो। मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र बजेट वक्तव्यमार्फत यो घोषणा सार्वजनिक गरिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ८ : ०० बजे