काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि बिहीबार दिउँसो ३ बजे संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार सोही दिन दिउँसो १:३० बजे उनले आर्थिक सर्वेक्षण समेत संसदमा पेस गर्ने कार्यक्रम तय भएको छ।
आगामी बजेटले अर्थतन्त्रमा ‘प्रस्थान विन्दु’ निर्धारण गर्दै दोस्रो चरणको आर्थिक सुधारका योजना ल्याउने अनुमान गरिएको छ। अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिबाट १९ खर्ब रुपैयाँको बजेट सीमा पाएको छ भने, अर्थमन्त्री पौडेलले करिब २० खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेका छन्।
राजस्व संकलनमा गिरावट आएपछि बजेट निर्माणमा सरकारलाई चुनौती भएको छ। चालू आर्थिक वर्षमा राजस्व वृद्धिदर ११ प्रतिशतमा सीमित भएको छ। अर्थतन्त्र सुस्त गतिमा रहेकाले उत्पादन र मागमा गिरावट आएको छ, जसले समग्र अर्थतन्त्रमा असर पुर्याएको विश्लेषण गरिएको छ। यसले लगानीकर्ता र उपभोक्तामा निराशा थपेको छ।
आगामी बजेटले बजारमा माग बढाउने, लगानीको वातावरण बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नीति परिवर्तन (Policy Departure) गर्ने संकेत अर्थमन्त्री पौडेलले दिएका छन्।
पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको विभिन्न सिफारिस बजेटमा समावेश गरिनेछ। साथै, ती सिफारिस कार्यान्वयनका लागि सरकारले कार्ययोजना समेत स्वीकृत गरिसकेको छ।
प्रतिक्रिया