काठमाडौं । कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ। बुधबार सार्वजनिक भएको फैसलामा आलमविरुद्धको बम विस्फोट तथा हत्यासम्बन्धी अभियोग प्रमाणित हुन नसकेको अदालतले जनाएको हो।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीका अनुसार न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमविरुद्ध पेश गरिएका प्रमाणहरू अपर्याप्त ठहर गर्दै सफाइ दिएको हो।
अभियोग अनुसार २०६४ चैत २७ गते रौतहटमा आलमको घरमा बम विस्फोट भएको र घटनामा घाइते भएका व्यक्तिहरूलाई ट्र्याक्टरमा हालेर इँटाभट्टामा जलाइएको दाबी गरिएको थियो। तर, अदालतले ती दाबीहरू पुष्टि गर्ने ठोस प्रमाण प्रस्तुत गर्न वादी पक्ष असफल भएको निर्णय सुनाएको हो।
यसअघि आलमलाई जिल्ला अदालत रौतहटले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। तर लामो समयदेखि चलिरहेको मुद्दामा अन्ततः उच्च अदालतले उनलाई सफाइ दिएको हो।
यस फैसलापछि आलम कानुनी रूपमा दोषमुक्त भएका छन्। तर, घटनाले नेपाली राजनीतिमा गम्भीर बहस जन्माएको थियो, जसको दीर्घकालीन प्रभाव विश्लेषणको विषय बनेको छ।
प्रतिक्रिया