Logo

Breaking News 1

ग्राभेल तस्कर रोक्न खोज्दा भिडन्तको अवस्था, स्थानीयको प्रतिकार



सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–८ लामाटोलबामा ग्राभेल तस्कर र स्थानीय बासिन्दाबीच झडपको अवस्था सिर्जना भएको छ । गाउँछेउको बगैंचा मासेर उत्खनन गर्न गएका ग्राभेल तथा क्रसर व्यवसायी बेचन शर्मा समूहलाई स्थानीयले प्रतिकार गरेका छन् ।

गत शुक्रबार स्काभेटर र ट्रिपर लिएर उत्खनन गर्न गएका शर्मा समूहलाई सयौं बाहुबलीसहित प्रवेश गर्दा गाउँले महिला, पुरुष र बालबालिकासहित प्रतिरोधमा उत्रिएका थिए । झन्डै एक घण्टा चलेको घम्साघम्सी र हातपातपछि स्थानीयले उत्खनन रोक्न सफल भएका छन् तर व्यवसायी समूहले शक्ति प्रयोग गरेर भए पनि उत्खनन गरेरै छाड्ने अड्डी लिएका छन् ।

स्थानीय सुरेश तामाङले भने, ‘हामी तयारी अवस्थामा छौं। मर्नु परे मर्छौं तर हाम्रो बस्ती छेउमा उत्खनन गर्न दिँदैनौं। स्वच्छ वातावरणमा बाँच्न पाउने हाम्रो मौलिक अधिकार हो ।’ उनका अनुसार उत्खनन क्षेत्र नजिकै विद्यालय, लहलहाउँदो आँपको बगैंचा र घर छन् ।

यता व्यवसायी बेचन शर्माले भने नगरपालिकाबाट कानुनीरूपमा अनुमति लिएको भन्दै उत्खननको काम रोकिनु नपर्ने जिकिर गरेका छन् । स्थानीय जमुनी तामाङका अनुसार शर्माले गुण्डा लिएर आएका थिए र स्काभेटर प्रयोग गरेर रोक्न आउनेलाई खाडलमा पुरिदिने धम्कीसमेत दिएका थिए ।

स्थानीय प्रितम तामाङले आरोप लगाए अनुसार उत्खनन अनुमति प्रक्रियामा व्यापक अनियमितता भएको छ । उनका अनुसार पुरानो मितिमा एक थान मात्र पत्रिकामा सूचना प्रकाशित गरेर गोप्यरूपमा वातावरणीय प्रभाव मूल्यांकन गराइएको थियो। ‘गाउँलेलाई थाहा नदिई, फर्जी भेला र हस्ताक्षरमार्फत सहमति जुटाइएको छ,’उनले भने ।

प्रितमले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले सेवानिवृत्त हुनु अघिको समयमा करिब १५ लाख रुपैयाँ घुस लिएर फर्जी कागजातका आधारमा उत्खनन अनुमति दिएको आरोप पनि लगाए। गुरुङले भने, ‘नगरपालिकाको आम्दानी बढाउन उत्खनन अनुमति दिएको हुँ ।’

यस विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले भने, ‘स्थानीयको असन्तोष समाधान गरेर सहमतिमा मात्र उत्खनन गर्न नगरपालिकालाई भनिएको छ। शान्ति सुरक्षामा असर परे हस्तक्षेप गरिनेछ ।’

स्थानीय रीता तामाङका अनुसार, ‘उत्खननका कारण भूमिगत पानीको सतह घटेको छ, बोटबिरुवा सुक्न थालेका छन् र स्काभेटरको ध्वनी प्रदूषण तथा धूलोले सास्ती दिएको छ ।’ जमुनी तामाङ भन्छिन्,‘गाउँभरि त्रास फैलिएको छ। रातभर पहरा दिनुपरेको छ ।’

व्यवसायी बेचन शर्माले भने, ‘६०–७० लाख रुपैयाँ लगानी गरिसकेको छु । मेसिन लिएर बसेको छु । खन्न दिएका छैनन् । मिलाउने प्रयासमा छु ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ९ : ११ बजे