काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यसक्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे ।
मंयक अग्रवालले २३ बलमा ५ चौकाको सहयोगमा नटआउट ४१ रनको योगदान गरे । कप्तान शर्मा र अग्रवालबीच पाँचौं विकेटका लागि १०७ रनको अविजित साझेदारी भयो, जसले आरसिबीलाई सहज जित दिलायो । ओपनर फिल साल्टले १९ बलमा ३० रन बनाउँदा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए ।
त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २७ रन बनायो । अब आरसिबीले क्वालिफायर वानमा पञ्जाब किंग्सको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बिहीबार हुनेछ ।
यस्तै, एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स आमनेसामने हुने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार हुनेछ ।
प्रतिक्रिया