Logo

Breaking News 1

संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : पन्त



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरुको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।

उनले भने, ‘लामो समय मैंले पत्रकारितामा बिताए । पत्रकार महासंघको महासचिवहुँदै संसदको चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ । सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाही धेरै विद्वानहरुले भन्न नसकेको कुरा लेखिएको हुन्छ । त्यस्तो कुरा पाठकले मात्र देख्छ । त्यसकारण म तपाईहरुको पाठक हुँ, विद्यार्थी हुँ । संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु । सबैले बाटो देखाइदिनुहोला । मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ ।’

यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए ।

नेपाललाई विदेशी विद्यार्थीको हब बनाउन सकिन्छ : देउवा
सोही क्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउने हिसाबले अगाडि बढ्न सक्यौ भने नेपाली मात्र होइन विदेशी विद्यार्थीहरु पनि नेपाल आउने बताए ।

उनले भने, ‘शिक्षाको विषय एकदमै महत्वपूर्ण विषय हो । हरेक अभिभावकहरुले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन् । त्यसकारण हामीले नेपालको शिक्षा प्रणालीलाई राम्रो र बलियो बनाउनु पर्छ । नभए सबैले आफ्ना सन्तानलाई विदेश पठाउन थाल्छन् । नेपाल शिक्षाको हब पनि बन्नसक्छ । सोही अनुसार अगाडि बढ्न सक्यौ भने नेपाली मात्र होइन विदेशी विद्यार्थीहरु पनि नेपाल आउन सक्छन् ।’

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ५ : ५३ बजे