Logo

Breaking News 1

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान



जनकपुर । चालु आर्थिक वर्ष २०८१।०८२ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु.८ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयले जनकपुरधाममा आर्थिक वर्ष २०८१।८२ का लागि प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

सो अनुमान अनुसार मधेश प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १३.१६ प्रतिशत योगदान पु¥याउने देखिएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०।८१ को संशोधित अनुमानसँग मिल्दोजुल्दो रहेको देखिएको छ । त्यस्तै स्थिर मूल्यमा मापन गरिएको वृद्धिदर ४.५० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३.७४ प्रतिशतभन्दा सुधार भएको हो ।

त्यस्तै, मधेश प्रदेशको अर्थतन्त्र अझै पनि कृषि क्षेत्रमा निर्भर रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षमा कृषि, वन तथा माछा पालन क्षेत्रले ३६.७३ प्रतिशत योगदान पु¥याएको छ । अघिल्लो वर्ष पनि कृषि क्षेत्रको योगदान ३५.९२ प्रतिशत रहेको थियो । त्यस्तै विद्युत तथा ग्याँस क्षेत्र सबैभन्दा उच्च वृद्धिदर ९९.८३५० भएको क्षेत्रको रूपमा देखिएको छ ।

सार्वजनिक गरिएको प्रारम्भिक अनुमान अनुसार, मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा कममात्र ९३२ अमेरिकी डलर रहेको छ, जुन राष्ट्रिय औसत १४९६ डलरभन्दा निकै कम हो । मधेश प्रदेशमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.१५ प्रतिशतमा सीमित छ, जुन सबैभन्दा न्यून योगदान भएको क्षेत्र हो । यो तथ्याङ्कले प्रदेशमा यस क्षेत्रको विकास अत्यन्तै कमजोर देखाउँछ ।

मधेश प्रदेशले स्थिर मूल्यमा आर्थिक वृद्धिदर र कुल उत्पादनमा सुधार देखाए पनि प्रतिव्यक्ति आय र क्षेत्रगत विविधिकरणका हिसाबले अझै पछि परेको राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनले मधेश प्रदेशमा कृषि क्षेत्रको निर्भरता कायमै रहेको बताए ।

भट्टराईले औद्योगिक र सेवा क्षेत्रको योगदान वृद्धिका लागि संरचनागत सुधार आवश्यक रहेको सुझाव दिए । उनले मधेश प्रदेशको आर्थिक वृद्धिलाई सन्तुलित बनाउन दीर्घकालीन योजना र नीति आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ५ : ४७ बजे