Logo

समाचार

ऊर्जामन्त्रीको निरीक्षण : “लोडसेडिङ हुन दिइँदैन”



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार साँझ काठमाडौँको कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखाको स्थलगत निरीक्षण गरेका छन्। मन्त्री खड्काले विद्युत् वितरणमा देखिएका समस्या, उपभोक्ताका गुनासा र प्रवाह प्रणालीका सम्भावित प्राविधिक पक्षबारे जानकारी लिएका हुन्।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युत् आपूर्ति मागअनुसार पर्याप्त रहेको स्पष्ट पारे। उनले लोडसेडिङ नहुने र हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै भने, “बजारमा नियोजित रूपमा लोडसेडिङबारे हल्ला फैलाउने प्रयास भइरहेको छ, यस्ता भ्रामक प्रचारप्रति सावधान रहनुपर्छ।”

उनले असामान्य मौसम वा प्राविधिक कारणले देखिने क्षणिक अवरोधलाई लोडसेडिङसँग नजोड्न उपभोक्तालाई आग्रह गरे। “यस्ता समस्याहरू यथाशक्य चाँडो समाधान भइरहेको छ,” मन्त्री खड्काले उल्लेख गरे।

निरीक्षणकै क्रममा मन्त्री खड्काले स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) को पनि आकस्मिक अवलोकन गर्दै मुलुकभरको विद्युत् प्रवाह अवस्था तथा प्रणाली सुदृढीकरणका उपायबारे जानकारी लिएका थिए। उनले प्रविधि र जनशक्तिको व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिए।

नेपाल विद्युत् प्राधिकरण (नेपाले) का कर्मचारीलाई उपभोक्ताप्रति जवाफदेही भएर सेवा दिन निर्देशन दिँदै मन्त्री खड्काले असत्य प्रचारका कारण जनमानसमा भ्रम नफैलियोस् भन्नेतर्फ सचेत रहन आग्रह गरे।

उनले भारतसँगको विद्युत् व्यापारबारे जानकारी दिँदै भने, “हामी सस्तोमा विद्युत् किनेर उच्च मूल्यमा भारतलाई निर्यात गर्न सफल भएका छौँ, जसले राष्ट्रलाई आर्थिक फाइदा पुर्‍याएको छ।”

निरीक्षण टोलीमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित प्राविधिक अधिकारीहरूको सहभागिता थियो। मन्त्री खड्काले लोडसेडिङको पुनरावृत्ति रोक्न आपूर्ति निरन्तरता, प्रणाली सुदृढीकरण र गुनासो व्यवस्थापनमा सरकार गम्भीर रहेको दाबी गरे।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ९ : २१ बजे