Logo

मुख्य समाचार

तीनकुने घटनामा दुर्गा प्रसाईंको इन्कारी बयान, ज्यान जोगाउन गाडी कुदाएको दाबी



काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको घटनामा संलग्न भएको आरोपमा मुद्दा दायर गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार (जेठ ११) प्रसाईंसहित ६२ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्ति भंग, राज्यविरुद्धको अपराध लगायत गम्भीर ६ ओटा अभियोगसहित मुद्दा दायर गरेको हो।

प्रसाईंले दिएको बयानअनुसार, उनी निर्धारित कार्यक्रमअनुसार चैत १५ गते दिउँसो १२:३१ बजे आफ्नै हाइलक्स गाडीमा कार्यक्रम स्थलतर्फ जाँदै थिए। उनले बाटोमा सर्वसाधारणले अभिवादन गरिरहेको बताए पनि तीनकुने नजिक पुग्दा आँखा पोल्न थालेको र मञ्चमा टियर ग्यासको धुवाँ देखेको दाबी गरेका छन्।

बयानमा उनले भनेका छन्, “मेरो काननजिकै गोलीसमेत गएको महसुस भयो। त्यसपछि आज मलाई नै लक्षित गरेर हमला गर्न लागेको ठानेर चालकलाई गाडीबाट ओरालेर आफैं गाडी चलाएर ज्यान जोगाउन भागेको हुँ।”

सरकारी अभियोजनमा भने प्रसाईंलाई घटनाका प्रमुख योजनाकार तथा उक्सान दिने व्यक्ति ठहर गरिएको छ। अदालतमा मुद्दा विचाराधीन रहेको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ७ : ४५ बजे