काठमाडौं । सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औल्याएका हुन् । उनले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘पर्यटनको लागि प्राकृतिक, सांस्कृतिक र साहसिक रुपमा ब्रान्डिङ गर्नुपर्छ । रारा, फेवाताल, खप्तड, शैलुङलाई ब्रान्डिङ गर्नुपर्यो । कुन कुन ठाउँलाई ब्रान्डिङ गर्ने अन्तर्राष्ट्रिय रुपमा देखिनेगरी ब्रान्डिङ गरी पूर्वाधार निर्माण गर्न सकियो त्यसैमा निर्धारित नीति निर्माण बनाउनुपर्छ । जसले गर्दा पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ ।’
उनले पछिल्लो समय सम्बन्धित निकायहरुमा कामभन्दा बढि कुरामा व्यस्त रहने संस्कार भएको भन्दै यसबाट मुलुकको विकास नहुने बताए ।
‘हाम्रो एउटा संस्कार छ, सबै आजित छौ । असाध्यै धेरै कुरा गर्छौ, असाध्यै धेरै भाषणभूषण गर्छौ । काम चाहीं थोरै गर्छौ । सम्बन्धित नीति र कार्यक्रमहरु पनि कम बनाउँछौं । यही गतिले जाने हो भने हामीले खोजेको गन्तब्यमा पुग्न सक्दैनौं । हामीमा काम गर्ने संस्कार भन्दा पनि भेला, गोष्ठी बढि गर्छौ । तर पाइला चाल्ने काम कम गर्छौ । यसबाट हाम्रो मुलुक मुक्त हुनुपर्छ,’ उनले भने ।
यस्तै उनले योजना बनाउनेहरुले मुलुकको आवश्यकता नबुझेको भन्दै विकासमा पुरानो सोचाइ राख्ने गरेको बताए । उनले पर्यटकको विकासका लागि बजेट निर्माण पछाडि पारेको बताए ।
प्रतिक्रिया