अहिलेको आवश्यकता भनेको पर्यावरणलाई जोगाउने हो । त्यो भनेको हामी लेखकहरुले पर्यावरण कसरी बिग्रिदै छ, कसले बिगार्दै छ र त्यसलाई सुधार वा संरक्षणका उपायहरु के हुनसक्छन् भन्नेबारे कविता, कथा, गजल र गीतहरु लेखिनुपर्छ ।
विजय हितान
लेखक/साहित्यकार
वेलायतबाट नेपाल कुनै न कुनै सन्दर्भ वा कार्यक्रम तय गरेर आउने गरेको छु । यस पटक यही जेठ १७ गते काठमाडौंम आयोजना हुने ‘दशौं वातावरण साहित्य गोष्ठी’का सिलसिलामा नेपालमा छु । श्रृखंलावद्ध रुपमा आयोजना गरिंदै आएको यस्तो गोष्ठी सन् २०१६ सालमा लन्डनमा शुभारम्भ गरेका हौं ।
यस पटकको यो गोष्ठी अलिक बृहत र पृथक छ । एउटा मेरो कविता संग्रह ‘मलाई आर्यघाट लगेर नजलाउ’ र ६ महिनाअघि आयोजना गरिएको पर्या निवन्ध प्रतियोगिताका ३२ वटा निबन्धहरुको संग्रहपनि लोकार्पण गर्ने र उत्कृष्टहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
पर्या साहित्य एउटा विश्वव्यापी अभियान हो । वर्तमान परिप्रेक्ष्यमा यो अत्यन्तै आवश्यक पनि बनिरहेको छ । दिन प्रतिदिन वातावरण, प्रकृति र पृथ्वी क्षयीकरण भइरहेको, हावा र पानी दूषित बनिरहेको, विकास सम्बन्धि संरचनाका गतिविधिले बिध्वसं गरिरहेको, रुख–विरुवाहरु नष्ट हुँदै गइरहेकाले जैविक विविधतामा र्हास आइरहेको छ ।
यस्तोबेला साहित्यका माध्यमबाट सन्देश प्रवाह गर्नपनि यस्तो अभियान आवश्यक ठानेका हौं । वन जंगलदेखि स्तनधारी प्राणी र सम्पूर्ण बन्यजन्तुहरु लोपोन्मुख अवस्थामा पुगिसकेकाले यसबारे सचेतना जगाउनपनि साहित्यलाई प्रभावकारी माध्यम ठानेका हौं ।
वातावरण सम्बन्धि यस्तो समस्या नेपालमा मात्र होइन्, विश्वमा फैलिदै गइरहेको छ । क्षयीकरण भइरहेको, पृथ्वी तातिरहेको र कार्बन उत्सर्जन बढिरहेकाले यस्तो संवेदनशिल विषयलाई विशेष प्राथमिकता राखेका हौं । वातावरण एवम जलवायु परिवर्तनका कारण निम्तिएका समस्याहरु समाधानका लागि, सचेतना जगाउनका लागि र आवश्यक सन्देश सर्वसाधारण समक्ष पुर्याउनका लागि मैंले व्यक्तिगत रुपमा पनि वातावरणको विधा समातेको हुँ ।
पल्टनमा सिर्जना
व्रिटिस आर्मीबाट मैंले अवकास लिइसकेको छु । नेपाली गीत, संगीत र साहित्य क्षेत्रमा पल्टनमा धेरै नेपाली प्रतिभाहरु हुनुहुन्छ । तर पल्टनभित्र प्रतिभा र सिर्जनाको प्रवद्र्धन गरिदैन् । पल्टनमा सिर्जना गर्ने भनेको फुर्सदमा हो । बन्दुक बोकेर हिडेको बेला लेख्ने कुरो भएन् । मानसिक रुपमा तयारी चाहीं गर्न सकिन्छ । मनमा सोच्ने र समय भएको बेला कापीमा लेख्ने गरिन्छ । कल्पना गरेको कुरा लेख्ने वा टिपोट गर्दै जाने र फुर्सदमा साहित्यिक वान्कीमा पस्किने गरिन्छ । पल्टनमा अवसर नै हुँदैन भन्ने चाहीं छैन् । तर प्रोत्साहन चाहीं हुँदैन् । हरेक पल्टनमा धेरै नेपाली दाजुभाइहरु साहित्य, संगीत क्षेत्रमा हुनुहुन्छ तर प्रोत्साहन चाहीं हुँदैन् । नेपाल र भारतीय पल्टनमा पनि त्यस्तै होला । कुनै सर्जकले पुस्तक निकाल्यो भने धेरै बाठो बन्यो भन्ने सन्देश जाने रहेछ, त्यसैले प्रोत्साहन नभएको हो कि ।
पल्टनमा हुँदा सबैभन्दा बढी याद आउने भनेको परिवार नै हो, त्यसपछि राष्ट्र, नेपाल र नेपालीको खुबै सम्झना आउँछ । विदेशमा राष्ट्रियताका बारेमा र राष्ट्रका बारेमा मिनेट–मिनेटमा, सेकेण्ड–सेकेण्डमा सम्झना आइरहेको हुन्छ । अरुको देशको परिवेशमा बस्दा अलिकति भाषा, खानपान, मौसम मिलेन भने आफू जन्मिएको देशको खुबै याद आउँछ ।
हरेक सिर्जनामा वातावरणको चिन्ता
वातावरण विज्ञानकै विद्यार्थी भएकाले मेरो झुकाव वातावरण पट्टी नै भयो । ‘विछोड अघिको रात’ कविता संग्रह, ‘थकित पृथ्वी’ पर्या कविता संग्रह, ‘बागमती ब्लूज’ कविता संग्रह, ‘इको उत्सर्जन’ निबन्ध संग्रह, ‘स्वच्छन्द सुसेलीहरु’ कविता संग्रह, ‘ब्लू प्लानेट’ पर्या कथा संग्रह, ‘लाहुरेको रेलिमाई’ उपन्यास जस्ता धेरै कृतिहरु आएका छन् । जसमध्ये धेरैजसो वातावरणसँग नै सम्बन्धित छन् ।
अध्ययनका सिलसिलामा पनि मैंले विज्ञानका कुराहरु धेरै सिकें । कस्तो खालको ग्यासले वायु प्रदुषण हुन्छ, पानीमा भएको शुद्दता के ले नष्ट हुन्छ, जमिन के ले प्रदूषित हुन्छ, जलवायु परिवर्तन के कारणले हुन्छ भनेर मैंले विज्ञानकै अध्ययनबाट सिकेको हुँ । ति सबै तथ्यपरक कुराहरु हुन् । ल्याबमा देखिने कुराहरु हुन् । त्यसैले यस्ता कुराहरु सर्वसाधारणले पनि जान्नुपर्छ भनेर विभिन्न अभियान संचालन गर्न जरुरी छ जस्तो लाग्छ ।
जलवायु परिवर्तन किन भइरहेको भन्ने कुरा विज्ञानले बोलेको छ । त्यहि कुरालाई संप्रेषण गर्नका लागि पनि मैंले वातावरणको धार समातेको हुँ । धेरैलाई थाहा छैनहोला–बागमती के कारणले प्रदूषित भयो, बागमतीमा किन पानी छैन् ? बागमतीलाई बचाउनको लागि र स्वच्छ बनाउनको लागि वैज्ञानिक उपाय के के छन् ? ति कुराहरु सर्वसाधारण पाठकलाई जानकारी दिन वा देखाउन र सचेत गराउनका लागि वैज्ञानिक तरिकाबाट सिकाउन जरुरी छ ।
मेरा केही अध्ययन र कृतिहरुले वातावरणका कुराहरु बोलेको छ । ‘ब्लू प्लानेट’ १५ वटा इको कथाहरु छन् । ति १५ वटा इको कथाभित्र एउटाले रेडपाण्डाको बारेमा कथा बोलेको छ । एउटाले बाघको बारेमा, एउटाले गैंडाको बारेमा, एउटाले चाँही बागमतीको स्वच्छन्दता बारेमा बोलेको छ । १५ वटा कथाहरु पनि वातावरणका विविध पक्षहरुलाई प्रस्तुत गरेको छु । मेरो पृष्ठभूमि लाहुरे भएकाले लाहुरे अनुभूति जसलाई युद्ध साहित्य पनि भनिन्छ ‘लाहुरेको रेलिमाइ’ उपन्यास मार्फत प्रस्तुत गरेको छु ।
नेपाली साहित्यमा प्रवासको योगदान
विदेशमा बस्ने नेपालीहरुले नेपाली साहित्यमा अत्यन्तै ठूलो योगदान छ । नेपाली भाषा साहित्य सम्बन्धि एक बर्षमा जतिपनि कृतिहरु प्रकाशित हुन्छन् त्यसको एक तिहाइ पुस्तक चाँही विदेशमा बस्ने नेपालीले लेख्छन् र प्रकाशित गर्छन भन्ने मेरो आँकडा हो । ३० वटा पुस्तक वर्षमा प्रकाशन हुन्छ भने १० वटा पुस्तक विदेशमा नेपाली प्रकाशन गर्छन् जस्तो लाग्छ ।
नेपालभित्र पनि सिर्जना र पृथकताको हिसावले वर्षैपिच्छे केही पुस्तकहरु कवितामा, यात्रामा, आख्यानमा आइरहेका छन् । तर तिनीहरु पुरस्कृत हुने भन्ने कुरा अलिक फरक विषय हो । जुन संस्थाले पुरस्कृत गर्छ त्योसँग नजिक भएको हुनुपर्छ भन्ने आम बुझाइ छ ।
लेखन र सिर्जना एउटा बौद्धिक गतिविधि भएकाले सबै समृद्धि र विकासका लक्षणहरुसँग जोडिनसक्छ । लेखकले लेख्छ, पुस्तक प्रकाशन हुन्छ अनि बजारमा जान्छ यो अर्थतन्त्रको प्रक्रिया पनि हो । नेपालको अर्थतन्त्र एकदमै कमजोर छ । हरेक क्षेत्रको बजार शिथिल छ, पुस्तकको बजार पनि एकदमै कमजोर छ । प्रकाशकले आफूले लगानी गरेर पुस्तक प्रकाशन गर्दैन्, यदी गरिहालेपनि विक्री भएको पुस्तकको रकम सर्जकले पाउँदैन् । त्यसैले पुस्तकको आर्थिक गतिविधि एकदमै कमजोर छ ।
डिजिटल प्लेटफर्म र अन्तर्राष्ट्रिय बजार
नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान पाएको छैन् । पुरस्कारको हिसाबले पनि कोही पनि पुरस्कृत भएको मैले सुनेको छैन् । भएपनि एकदमै न्यून छ । यसको प्रमुख कारण भनेको भाषा हो । नेपाली भाषा हामी पो गौरव गर्छौ तर विदेशतिर चर्चा हुँदैन् । बेलायत र अमेरिकामा बस्नेहरुका लागि अंग्रेजी, स्पेनिस, फ्रेन्स चाइनिज र हिन्दी भाषाको दबदबा छ ।
विकसित प्रविधिको कुरा गर्ने हो भने यसलाई अवसरका रुपमा लिन सकिन्छ । जसले प्रविधि चलाउन जानेको हुदैँन् त्यो पछाडि पर्छ । मैले एकदमै राम्रो, संवेदनशिल सिर्जना गरें तर मलाई सामाजिक संजाल चलाउन आउदैँन्, मिडियामा बोल्न आउदैँन् भने त्यो मेरो राम्रो सिर्जना हराएर जान्छ । कसैले सुन्दैनन् । कुनै गोष्ठीमा बोलाएको बेला मंैले बाचन गरेर सुनाए भने ३०÷४० जनाले मात्र सुन्छन् होला । तर प्रविधिलाई राम्रो सदूपयोग गर्न सकियो भने हजारौंले सुन्ने र पढ्नेछन् ।
प्रविधिमा गरिने प्रस्तुतीले पनि विशेष अर्थ राख्छ । कविता अहिले सुन्ने मात्र होइन, हेर्न पनि मिल्ने भएको छ । प्रविधिको राम्रो प्रयोग गर्नुभयो भने पहिचानविहीन रहेको सिर्जना माथिल्लो तहसम्म पुग्न सक्छ ।
तर अब माया, प्रेम, सामाजिक आन्दोलन, राजनीति, छुवाछुत, धर्म कुराहरु मात्र साहित्य सिर्जनामा व्यक्त गरिनु राम्रो होइन् । त्यस्ता विषयमा धेरैले लेखिसकेका छन् । अहिलेको आवश्यकता भनेको पर्यावरणलाई जोगाउने हो, त्यो भनेको हामी लेखकहरुले पर्यावरण कसरी बिग्रिदै छ, कसले बिगार्दै छ र त्यसलाई सुधार वा संरक्षणका उपायहरु के हुन् त्यसबारेमा कविता, कथा, गजल र गीतमार्फत आउनुपर्छ ।
प्रकृतिको सुन्दरताको बारेमा धेरै गीत लेखेका छौ । तर लेखे अनुसारको प्रकृति सुन्दर छैन् । हिमालमा हिउँ छैन्, खोला प्रदूषित भएको छ । जथाभावी प्लाष्टिकको फोहोर छ । त्यसैले अब सर्जकहरुले वातावरणका बारेमा, पर्यावरणका बारेमा र जलवायु परिवर्तन न्यूनिकरण गर्नका लागि साहित्य सिर्जना गर्नुपर्ने बेला आएको छ । (वेलायतमा बसेर नेपाली साहित्य लेखिरहेका पूर्व गोर्खा सैनिक एवम लेखक विजय हितान पर्यावरण साहित्यका अभियन्ता हुन् ।)
प्रतिक्रिया