Logo

प्रदेश

रंगेलीमा सडकमा बिस्कुन सुकाउन पुनः अनुमति, दुर्घटनापछि संशोधित निर्णय



विराटनगर । रंगेली–७ निचामारीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको ज्यान गएपछि बन्द गरिएको सडकमा बिस्कुन सुकाउने कार्य पुनः खोलिएको छ। सर्वपक्षीय सहमतिपछि रंगेली नगरपालिकाले व्यस्त राजमार्गको २० प्रतिशत क्षेत्रभित्र बिस्कुन सुकाउन दिने निर्णय गरेको हो।

गत जेठ ५ गते मकैको बिस्कुन सडकमा सुकाइँदा ट्याक्टरले ठक्कर दिँदा १३ वर्षीया बालिकाको मृत्यु भएपछि नगरपालिका र स्थानीय प्रशासनले सडकमा अन्नबाली सुकाउन रोक लगाएका थिए। तर स्थानीयले सुकाउने ठाउँको अभाव भन्दै निर्णयको विरोध गरेका थिए।

विवादपछि नगरपालिकाले नेपाली कांग्रेस, एमाले, नेकपा (एस), किसान प्रतिनिधि र प्रहरीले सहभागिता जनाएको सर्वदलीय बैठक आयोजना गर्‍यो। बैठकले हुलाकी राजमार्ग र कानेपोखरी–रंगेली सडकमा सर्तसहित बिस्कुन सुकाउन दिने निर्णय गरेको हो।

नगरपालिका उप–प्रमुख झुमाकुमारी पराजुलीका अनुसार दुर्घटनाको जोखिम नबढ्ने गरी सुकाउने क्षेत्र तोकिएको छ। “सडक प्रयोग गर्दा दुर्घटनाको सम्भावना बढेकाले सर्तबद्ध रूपमा अनुमति दिइएको हो,” पराजुलीले भनिन्।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले अबदेखि सडकको केवल २० प्रतिशत क्षेत्रमै अन्न सुकाउन पाइने स्पष्ट पारे।

सडक पिच भएपछि वैकल्पिक ठाउँको अभावमा स्थानीयले सडकमै मकै र धान सुकाउने गरेका छन्। नयाँ निर्णयले जोखिम र स्थानीय आवश्यकता बीच सन्तुलन कायम गर्न खोजिएको जनाइएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ८ : ०५ बजे