पोखरा । पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ । आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको थियो ।
एकादशीको पावन अवसरमा वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचनहरू सम्पन्न गरिएका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, यस अवसरमा युवा दार्शनिक चैतन्यकृष्ण महाराजको भोलि बिदाई गरिने छ भने अनन्त श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले भक्तिभावसहित कथा वाचन र भजन प्रस्तुत गरेका छन् ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्व विजयश्री कृष्णमूर्ति जी महाराजले पोखरा–१७ लाई कोटिहोमचोक को रुपमा घोषणा गरिएको जानकारी दिएका छन् । साथै भोलि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभा २५ जनाको टोलीसहित कोटिहोममा आगमन गर्नेछिन् ।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन् भने जेठ १४ देखि २२ सम्म भागवत वाचिका राधिका दासीको पनि कथा हुने भएको छ ।
आयोजकका अनुसार यी दुई वाचिकाको आगमनले भक्तजनको सहभागिता अझ बढ्ने छ ।
प्रतिक्रिया