Logo

राजनीति

भ्रष्टाचारमुक्त जनउत्तरदायी प्रशासनसहितको सत्ता आवश्यक : जनार्दन शर्मा



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम पूर्वमन्त्री जनार्दन शर्माले भ्रष्टाचार मुक्त जनउत्तरदायी प्रशासनसहितको दिगो नेतृत्वको सत्ता आवश्यकता रहेको बताएका छन् ।

वर्तमान राजनीतिक समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले विगतमा सुशासन र भ्रष्टाचारबारे धेरै बोल्ने गरेको भएपनि थोरै पनि लागू गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘विगतमा सुशासन र भ्रष्टाचारबारे धेरै बोल्यौं । तर थोरै पनि लागू गर्न सकेनौं । अब हामीसँग भ्रष्टाचार मुक्त जनउत्तरदायी प्रशासन सहितको दिर्घ नेतृत्वको सत्ता आवश्यकता छ । देशमा रोजगारीको अवसर सिर्जना गर्न नसकेको कारणले  अधिकांश युवा विदेशमा पसिना बगाइरहेका छन् । यसबाट देशलाई गम्भिर समस्या आइलागेका छन् । देश विकास र समृद्धिको लागि चाहिने युवा शक्ति जोश जाँगर  र परिश्रम विदेशको विकास र समृद्धिमा तल्लिन हुनु परेको छ ।’

साथै उनले नेपालको आजसम्मको असफल विकास यात्राको सबैभन्दा ठूलो कारक तत्वको रुपमा कार्यकारी संयन्त्र अन्तरगतका संस्था र  संस्थागत संरचना भएको बताए । उनले नेपाल एक असफल राष्ट्र भएको बताउँदै जनताको निराशा र आक्रोश चुलिँदै गएको बताए ।

यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको समस्याको समाधान बेरोजगारीको रोजगारी र कुशासनको सुशासन भएको बताए । उनले संसारको विकासको इतिहास, स्थायित्वको इतिहास, सफलताको इतिहास जस्तोसुकै इतिहास पढ्नुस् हाम्रा जस्ता समाजहरुले यो चरण पार गरेर जानुपर्ने बताए ।

उनले भने, ‘अहिलेको समस्याको समाधान बेरोजगारीको रोजगारी हो । कुशासनको सुशासन हो । संसारको विकासको इतिहास, स्थायित्वको इतिहास, सफलताको इतिहास जस्तोसुकै इतिहास पढ्नुस् हाम्रा जस्ता समाजहरुले यो चरण पार गरेर जानुपर्छ । अरु राजनीतिक ब्याख्या, अर्थशास्त्रीहरुको ब्याख्या, अरु समाजशास्त्रीहरुको ब्याख्या यसले काम दिँदैन । र नेपाली समाजमा जुन ज्वरो आउँदैछ , ज्वरोको डिग्री बढ्दैछ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ६ : २७ बजे