Logo

मुख्य समाचार

रवि र छविलालको मुद्दा: आदेश शुक्रबार आउन सक्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका मुद्दामा बिहीबार सरकारी वकिलको बहस सम्पन्न भएको छ। अब जाहेरवालाका वकिलको बहसपछि अदालतको आदेश आउने तयारी छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरू भएको सुनुवाइ लगातार ‘हेर्दाहेर्दै’मा परिरहेको छ। मंगलबार रविका तर्फबाट १० जना वकिलले बहस गरेका थिए। अन्तिममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे पनि अधूरो रहँदा बिहीबार पुनः सुनुवाइ भएको हो।

बिहीबार रवि लामिछानेका कानुन व्यवसायीहरूको बहसपछि सरकारी पक्षका चार जना वकिलले प्रतिवाद प्रस्तुत गरेका थिए। अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीन जना वकिलले शुक्रबार बहस गर्ने जनाइएको छ।

रविका कानुनी सल्लाहकार डा. नारायण कँडेलका अनुसार शुक्रबार चिया समयअघि नै सबै बहस सकिने सम्भावना छ। त्यसैले अदालतबाट सोही दिन आदेश आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ६ : ४३ बजे