Logo

समाचार

रामेछापमा अब क्युआर कोड मार्फत जिल्ला प्रशासन कार्यालयमा गुनासो गर्न सकिने



रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले क्युआर कोड मार्फत नागरिकले गुनासो गर्न सक्ने प्रविधि विकास गरेको छ ।

जिल्लाका सेवा प्रदायक संस्थाले प्रवाह गरेको सेवामा सुझाव तथा गुनासो गर्नु परेमा नागरिकले क्युआरबाट गर्न सक्ने भएका छन् । त्यसका लागि जिल्ला प्रशासन कार्यालय रामेछापका दुईवटा क्युआर कोड सार्वजनिक गरिएका छन् ।

एउटा कोड मार्फत नागरिकले सल्लाह, सुझाव र गुनासो गर्न सक्ने छन् भने अर्को कोडमा जिल्ला प्रशासन कार्यालय प्रवाह गर्ने सेवाको जानकारी रहेका नागरिक बडापत्र रहेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अहिले दुईवटा क्युआर कोड सार्वजनिक गरेको बताउँदै यसलाई क्रमशः सुधार गर्दै लैजाने बताए ।

प्रविधिको विकाससँगै जिल्ला प्रशासन कार्यालय डिजिटल प्रविधिमा प्रवेश गरेको उनले जानकारी दिए ।

जिल्लाका सेवा प्रदायक ३२ वटाबढी सकारी कार्यालयका सूचना अधिकारी तथा पत्रकारहरूको सहभागिता रहको कार्यक्रममा सबै कार्यालयका सूचना अधिकारीलाई हरेक तीन महिनामा अनिवार्य रूपमा सूचना सार्वजनिक गर्न थापाले निर्देशन दिए ।

कानुनले अनिवार्य भनेको काम नगर्ने कार्यालय र सूचना अधिकारी माथि कारबाहीको प्रक्रिया अघि बढ्ने उनले चेतावनी दिए ।

कार्यक्रममा पत्रकारहरूले सहज रूपमा सूचना नपाएको गुनासो गरेका थिए । सूचना माग्दा गलत नियतले हेर्ने गरेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ८ : २५ बजे