काठमाडौं । लामो समयदेखि गभर्नरविहीनजस्तै अवस्थामा रहेको नेपाल राष्ट्र बैंकले अन्ततः नयाँ नेतृत्व पाएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेसँगै संस्थामा देखिएको अस्थिरता अन्त्य हुने संकेत देखिएको छ।
नयाँ गभर्नर चयन प्रक्रियाले पछिल्लो केही सातादेखि सत्ता गठबन्धनमै तरंग ल्याएको थियो। गभर्नरको टुंगो नलाग्दा अर्थतन्त्रसम्बन्धी नीतिगत निर्णयमा अन्योल देखिएको थियो। तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठन भएको सिफारिस समितिले मंगलबार नै तीन उम्मेदवार — प्रा.डा. विश्वनाथ पौडेल, कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराई — को नाम मन्त्रिपरिषद् समक्ष प्रस्तुत गरेपछि निर्णय तत्काल भएको हो।
तीनजनामध्ये पहिलो नम्बरमा सिफारिस भएका प्रा.डा. पौडेलको नाम मन्त्रिपरिषद्ले अनुमोदन गर्दै राष्ट्र बैंकको बागडोर जिम्मा लगाएको हो।
यस नियुक्तिसँगै गभर्नरको विषयलाई लिएर चुलिँदै गएको सत्ता संकट पनि टरेको छ भने राष्ट्र बैंकमा देखिएको नीतिगत अनिश्चितता अन्त्य हुने अपेक्षा गरिएको छ। अबको ध्यान भने गभर्नर पौडेलले मुलुकको आर्थिक स्थायित्व, मौद्रिक नीतिको प्रभावकारिता, र वित्तीय प्रणालीको सुदृढीकरणतर्फ कसरी कदम चाल्छन् भन्नेमा केन्द्रित हुनेछ।
अब बैंकिङ क्षेत्रसँगै समग्र अर्थतन्त्रले पनि स्पष्ट दिशा पाउने विश्वास गरिएको छ।
प्रतिक्रिया