काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूको प्रतिनिधिसभामा कम उपस्थिति देखिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले कटाक्ष गरेकी छिन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कार्कीले प्रमुख विपक्षी दलको हैसियतमा रहेको कांग्रेसको संसद् उपस्थिति कमजोर भएकोप्रति प्रश्न उठाउँदै व्यङ्ग्यात्मक शैलीमा भनिन्, “आज त नेपाली कांग्रेसका माननीयज्यूहरू त सात–आठ जनादेखि बढ्ता त देखिँदैन नि! उहाँहरू कता जानुभयो? गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री?”
उनले ठूलो पार्टी भएकाले संसद्मा पनि उपयुक्त उपस्थिति देखिनुपर्ने आवश्यकता औंल्याउँदै, “तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ,” भनी आक्रोश पोखिन्।
सांसद कार्कीको यो टिप्पणी अहिले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच बढ्दो राजनीतिक तनाव र पछिल्ला घटनाक्रमसँग जोडेर हेरिएको छ। हालै नेपालको अर्थतन्त्र र गभर्नरको भूमिकालाई लिएर सार्वजनिक चासो बढेको बेला कांग्रेस सांसदहरू संसद्मा अनुपस्थित हुँदा यस्तो अभिव्यक्ति आएको हो।
प्रतिनिधिसभामा सांसदहरूको उपस्थिति नियमित नभएको विषय यसअघि पनि आलोचनाको विषय बनिरहेको छ। कार्कीको टिप्पणीले संसद्मा प्रमुख दलहरूको उत्तरदायित्वबारे फेरि बहस सिर्जना गरेको छ।
प्रतिक्रिया