काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि गौरवको क्षण बनेको छ, किनभने निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा रेड कार्पेटमा प्रस्तुत भएका छन्।
निर्देशक शाहीको विज्ञान-कल्पना (साइ-फाइ) फिल्म ‘एक्लो’ यसपटक कान्स फिल्म फेस्टिभलको Producers Network अन्तर्गत छानिएको छ। यो नेटवर्क विश्वभरिका स्थापित निर्माता र फिल्मकर्मीहरूको अन्तरक्रियाको थलो हो, जहाँ आगामी प्रोजेक्टहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर मिल्छ।
फिल्म ‘एक्लो’ को कथावस्तु भविष्यको पृथ्वीमा आधारित छ, जहाँ एक प्राणघातक भाइरसका कारण मानव सभ्यता नष्टप्रायः भएको हुन्छ। फिल्ममा बेलायती अन्तरिक्ष यात्री , जसको भूमिका जमि बेकनले निर्वाह गरेका छन्, हिमालय क्षेत्रमा आएर दुर्घटनाग्रस्त हुन्छन् र त्यहाँ उनलाई एक रहस्यमयी पात्र (Nepali guardian), जसको भूमिका प्रदीप खड्काले निभाएका छन्, भेटिन्छ।
प्रदिप खड्का ‘प्रेमगीत’, ‘लिलीबिली’ र ‘प्रकाश’ जस्ता हिट चलचित्रहरूबाट नेपाली फिल्म उद्योगमा स्थापित नाम हुन्। उनको कान्सको रेड कार्पेटमा उपस्थिति नेपाली कलाकारहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउने अवसरका रूपमा लिइएको छ।
कान्स फिल्म फेस्टिभल २०२५ मे १३ देखि २४ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुँदैछ। त्यस अन्तर्गतको Cannes Market मा १५ हजारभन्दा बढी फिल्मकर्मी, ४ हजार फिल्म तथा प्रोजेक्टहरू, र १४० देशका प्रतिनिधिहरू सहभागी छन्।
फिल्म ‘एक्लो’ को छानोट र नेपाली प्रतिनिधित्वले नेपाली सिनेमा अब विश्व फिल्म उद्योगमा समेत स्थापित हुँदै गएको स्पष्ट संकेत दिएको छ।
प्रतिक्रिया