Logo

समाचार

रवि र छविको निवेदन अब प्रधानन्यायाधीशको इजलासमा



काठमाडौं । सुप्रिम सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको निवेदन अन्ततः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको छ।

यसअघि लगातार ‘हेर्न नमिल्ने’ इजलासमा पर्ने क्रम नरोकिएपछि, सर्वोच्च अदालत प्रशासनले सुनुवाइ प्रक्रिया रोकिएको अवस्थालाई टुंगोमा पुर्‍याउँदै ‘हेर्न मिल्ने’ न्यायाधीशहरूमात्र समेटेर गोलाप्रथा मार्फत इजलास तोक्ने आदेश जारी गरेको थियो।

त्यसैअनुसार गरिएको गोलाप्रथाबाट आज दुवै निवेदन प्रधानन्यायाधीश राउतको नेतृत्वमा रहेको इजलासमा पुगेका हुन्।

रवि लामिछाने र छविलाल जोशीले उच्च अदालत तुल्सिपुरले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। रविका पक्षबाट उनकी श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको माग गर्दै अघिल्लो मंगलबार निवेदन दर्ता गरेकी थिइन्। तर, सो निवेदन पनि अघिल्लो साता भरि ‘हेर्न नमिल्ने’ इजलासमा परेको थियो।

लगातार सुनुवाइ प्रभावित भएपछि सर्वोच्चले प्रक्रिया अगाडि बढाउँदै निष्पक्ष सुनुवाइ सुनिश्चित गर्ने दिशामा कदम चालेको हो। अब प्रधानन्यायाधीश राउतको इजलासले निवेदनमा हुने सुनुवाइमार्फत प्रकरणको नयाँ मोड तय गर्ने सम्भावना बढेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ११ : ३२ बजे