पर्सा । पर्सा जिल्लामा प्रहरीले एकैदिन १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न आपराधिक अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका उनीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
एसपी मिश्रका अनुसार पछिल्लो समय प्रहरीले अदालतका फैसलाहरू कार्यान्वयनमा विशेष चासो देखाएको छ। यसैको परिणामस्वरूप विगतमा खुलेआम हिँडिरहेका फरार प्रतिवादीहरूलाई समात्न सहज भएको हो।
प्रहरीका अनुसार, पछिल्लो तीन महिनाको अवधिमा मात्रै पर्साबाट ७८५ जना विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। साथै, सोही अवधिमा करिब १३ करोड रुपैयाँ बराबरको राजस्व छलीका सामानहरू पनि नियन्त्रणमा लिइएको जनाइएको छ।
प्रहरीको यस्तो सक्रियता स्थानीयस्तरमा कानूनको कार्यान्वयनमा नयाँ उदाहरणको रूपमा हेरिएको छ। प्रहरीले यस्ता अभियानलाई निरन्तरता दिने बताएको छ।
प्रतिक्रिया