Logo

प्रविधि

देशव्यापी अन्धकार : भारत–नेपाल विद्युत् लाइनमा समस्या, प्राधिकरणले प्राविधिक कारण बतायो



काठमाडौं । बिहीबार साँझ नेपालका अधिकांश भूभागमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा देशभर एक घण्टाभन्दा बढी समय अन्धकारमय बन्यो। काठमाडौं, पोखरा, पूर्वी र मध्य नेपालका ठूला सहरहरू मात्र नभई पश्चिम नेपालका धेरै स्थानमा पनि विद्युत् सेवा प्रभावित भएको पुष्टि भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार समस्या भारत–नेपाल सँग जोडिएको ४०० केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको हो। प्राधिकरणले भारततर्फको प्रणालीमा आएको प्राविधिक समस्या तथा तीव्र हावाहुरीलाई विद्युत् अवरोधको कारण बताएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार समस्या देखिएलगत्तै भारतसँग समन्वय गरी समाधान प्रयास थालिएको थियो। “ठूलो हावाहुरीका कारण भारततर्फ लाइनमा समस्या आयो। हामीले तुरुन्तै भारतसँग समन्वय गरेर समस्या समाधान गर्‍यौं,” शाक्यले जानकारी दिए।

उनका अनुसार काठमाडौं, पोखरा र पूर्वी तथा मध्य क्षेत्रका अधिकांश स्थानमा कम्तिमा डेढ घण्टा विद्युत् सेवा अवरुद्ध रह्यो। यद्यपि, प्राधिकरणका अर्का अधिकारीका अनुसार चितवनदेखि पश्चिमसम्म पनि धेरै स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको थियो।

“यो विशुद्ध प्राविधिक समस्या हो,” प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ।

यता, देशभर अचानक अन्धकार भएपछि सामाजिक सञ्जालमा प्राधिकरण र सरकारप्रति तीव्र आलोचना भएको छ। प्रयोगकर्ताहरूले ऊर्जा सुरक्षाको प्रश्न उठाउँदै पूर्वतयारीविना यस्तो समस्याले गम्भीर असर पार्ने चेतावनी दिएका छन्।

विद्युत् प्राधिकरणले यस्तो प्राविधिक समस्या दोहोरिन नदिन तत्काल प्रभावकारी उपायहरू अपनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ९ : २१ बजे