Logo

समाचार

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद मोहनबहादुर बस्नेतको पद स्वतः निलम्बन



काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पद भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा बस्नेतसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि बस्नेतको संघीय सांसदको पद स्वतः निलम्बनमा परेको हो। आयोगका अनुसार मुद्दा दर्ता भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिहरूको पद स्वतः निलम्बनमा पर्छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार बस्नेतविरुद्धको भ्रष्टाचार मुद्दा सम्बन्धी सूचना संघीय संसद् सचिवालयमा पठाउने प्रक्रिया अघि बढाइएको छ। “पत्र जाँदै छ, त्यसपछि संसद्ले आवश्यक प्रक्रिया अघि बढाउनेछ,” उनले बताए।

टेरामक्स खरिद प्रकरणमा बस्नेतसहित १५ नेपाली नागरिक, एक विदेशी नागरिक र दुई कम्पनीसमेत गरी १८ जना प्रतिवादी बनाइएको छ। आयोगले प्रतिवादीहरूमाथि तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  १ : ५२ बजे