Logo

समाचार

कांग्रेस सांसद मोहन बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध ३ अर्बभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस सांसद मोहन बहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। टेलिकम ट्राफिक अनुगमन प्रणाली (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरी तीन अर्बभन्दा बढी सार्वजनिक धन हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारले दायर गरेको मुद्दामा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणमार्फत भएको टेरामक्स सिस्टम खरिदमा व्यापक आर्थिक अनियमितता देखिएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो।

मुद्दाका प्रतिवादीहरूमा तत्कालीन सञ्चारमन्त्रीसमेत रहेका सांसद बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पूर्वसदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उपनिर्देशक सन्दीप अधिकारीलगायत छन्।

यसका अतिरिक्त परामर्शदाता कम्पनी ‘भ्यानराइज सोलुसन साल’का सीइओ जमल अनउटी, उक्त कम्पनीका स्थानीय एजेन्ट ‘कनेक्सन ट्रेड लिंक प्रा.लि.’ काठमाडौं, उक्त कम्पनीका अध्यक्ष दिलिप कुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले अनुसन्धानपछि ठूला आर्थिक हानिहरू भएको र नियमनकारी निकायमा उच्च तहमा बसेका व्यक्तिहरूको संलग्नता प्रमाणित भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अदालतबाट कारबाही प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  १ : ५० बजे