Logo

समाचार

नागढुंगामा ट्राफिकद्वारा प्रहरी जवानमाथि हातपात, छानबिन सुरु



काठमाडौं । काठमाडौंको प्रवेशद्वार मानिने नागढुंगामा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी निरीक्षकले सोही ठाउँमा खटिएका नेपाल प्रहरीका एक जवानलाई सार्वजनिक रूपमा चड्कन हानेको घटना सार्वजनिक भएपछि प्रहरी संगठनले आन्तरिक छानबिन प्रक्रिया सुरु गरेको छ।

सवारी जाँचको क्रममा नागढुंगाको सडकमा घटेको उक्त घटनाको भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएपछि आम नागरिक तथा प्रहरी संगठनभित्रै पनि आलोचना सुरु भएको छ। भिडिओमा एक ट्राफिकले अर्का प्रहरी जवानलाई अनुशासन विपरीत व्यवहार गर्दै गालामा चड्कन हानेको स्पष्ट रूपमा देखिन्छ।

प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीरताका साथ लिँदै संलग्न इन्स्पेक्टरको पहिचान खुलेको र घटनाबारे प्रारम्भिक विवरण संकलन भइसकेको जनाएको छ। साथै, थप अनुसन्धानका लागि विशेष आन्तरिक छानबिन समिति गठन गरिएको जानकारी दिइएको छ।

यस घटनाले प्रहरी संगठनको आन्तरिक व्यवहार, अनुशासन र आचरणबारे गम्भीर प्रश्नहरू उठाएको छ। साथै, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूबीचको सहकार्य कस्तो हुनुपर्छ भन्ने विषयमा पनि व्यापक बहस सुरु भएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ३० बजे