Logo

खेलकुद

एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ



काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ । संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने जानकारी दिएको हो ।

नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो ।संघले गत संस्करणको लिगमा सहभागी भएका टिमलाई नै यसपटक निरन्तरता दिएको छ ।

लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् ।

दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैंया प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैंया पाउँदा विधागत उत्कृष्टमा २५–२५ हजार रुपैंया राखिएको छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा हरेक टिमले ३ विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ । यसका लागि संघका तर्फबाट अध्यक्ष जितेन्द्र बहादुर चन्द र हाम्रो खेलकुदका तर्फबाट सुबास हुमागाईंले सम्झौता गरेका छन् ।

लिगको पुरस्कार रकम मात्र ३२ लाख रुपैंया रहेको छ भने कुल अनुमानित बजेट ९० लाख रहेको छ । प्रमुख प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद रहेको छ । संघका अध्यक्ष चन्दले टिकटबाट ३०–३५ लाख उठाएर अन्य प्रायोजकबाट पनि सहयोगको अपेक्षा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ८ : ३७ बजे