Logo

खेलकुद

चेल्सीसँग लिभरपुल ३–१ ले पराजित



काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

स्ट्यामफोर्ड ब्रिजमा घरेलु टोलीका लागि एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई उत्कृष्ट सुरुवात दिलाए । दोस्रो हाफको ५६औं मिनेटमा लिभरपुलका जारेल क्वान्साहको आत्मघाती गोलका कारण चेल्सीले अग्रता दोब्बर बनायो ।

खेलको ८५औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत एक गोल फर्काए पनि, इन्ज्युरी समयको छैटौं मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

यो जितसँगै चेल्सी ६३ अंकसहित लिगको पाँचौं स्थानमा यथावत् छ। छैटौं स्थानमा रहेको नटिङ्घम फरेस्टभन्दा चेल्सी तीन अंकले अगाडि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, चेल्सी अब चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा पुगेको छ। यी दुई टोलीबीचको खेल अर्को साता सेन्ट जेम्स पार्कमा हुनेछ, जुन च्याम्पियन्स लिग स्थानको लागि निर्णायक हुनसक्छ ।
त्यसैगरी, म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ । बेन्टफोर्डसँग ४–३ को हार बेहोरेको युनाइटेडको लिगमा संकट थपिएको छ । अन्य खेलमा ब्राइटन र न्युक्यासल तथा वेस्टह्याम र टोटेनहमबीच १–१ को बराबरी भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : ४३ बजे