Logo

समाचार

संविधान संशोधन गरेर अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने



काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चम्लागाईंले अपाङ्गता भएका व्यक्तिको अनिवार्य राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधनको माग गरेका छन् ।

संघको १७औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले संविधान संशोधन गरेर भए पनि अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो रहन्छ। त्यसैले अबको यात्रामा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधानमा संशोधन गरी स्थानीयदेखि संघसम्म राज्यका हरेक तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने उनको भनाइ छ ।

उनले अपाङ्गता भएका व्यक्तिको संघर्ष, जनआन्दोलनमा भूमिका र सामाजिक रुपान्तरणमा योगदान स्मरण गर्दै अबको प्राथमिकता रोजगारी, सीप, डिजिटल पहुँच, सहायक उपकरणको पहुँच र अपाङ्गमैत्री पूर्वाधार निर्माण रहेको बताए ।

गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सुरु गर्नुपर्ने र अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने उनले जोड दिए ।

उनले आगामी दिनहरूमा, संघ अझ एकीकृत, दूरदर्शी र परिणाममुखी अभियानको नेतृत्व गर्दै अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई संविधान र शासनको मूल प्रवाहमा स्थापित गर्न प्रतिबद्ध रहने पनि उल्लेख गरे ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : १० बजे