काठमाडौं । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ ।
आइतबार आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा समुद्घाटन गरिएको हो ।
उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख चिरिबाबु महर्जनले यो शौचालयलाई सफा र राम्रोसँग प्रयोग गर्नुपर्ने बताए । उनले स्मार्ट ट्वाइलेट बनाउने अभियान अन्तरगत नै ललितपुर महानगरपालिकाले यो अपाङ्गमैत्री शौचालय बनाएको बताए ।
उनले भने, ‘धेरै प्रतिक्षापछि अत्याधुनिक पर्यटनमैत्री र अपाङ्गमैत्री शौचालयको निर्माण हुन गयो । यो शौचालयलाई कसैले पनि जतिसुकै लामो श्वास ताने पनि नगनाउने शौचालयलाई प्रयोग गर्नुपर्छ । यसको लागि महानगरपालिका सहकार्य गर्न तयार छ । महानगरले स्मार्ट ट्वाइलेट बनाउने अभियान सुरु गर्यो । सो अभियान अन्र्तगत धेरैवटा शौचालय बनाएका छौं । सो मध्ये टेक्नोलोजीको रुपमा शौचालयमै नुहाउने कक्षसहित धेरै शौचालय बनायौं तर यो शौचालयलाई आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय भनेका छौं ।’
साथै उनले विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । उनले भने, ‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ । ’
पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने बताए । प्रमुख महर्जनले शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए ।
आधुनिक प्रविधिको अपाङगतामैत्री शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीनवटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, एकवटा अपाङगतामैत्री शौचालय, एक वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्री समेत रहेको छ । संस्कृति पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्वपूर्ण भएको बताए ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको बताइन् ।
पर्यटकलाई सुविधा दिदैँ पुरातात्विक महत्व पनि कायम राख्ने गरी महानगरले अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको बताइन् । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रणयुक्त परियोजना भएको बताइन् ।
महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयवमध्ये सार्वजनिक शौचालय पनि एक हो भएको बताए । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरै वटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए । पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय अत्यावश्यक भएको बताए ।
उनले भने, ‘शौचालय अति आवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौ ।’ पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको बताए । सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी वनावट काष्ठकला र चुनासुर्की सहितको माअप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायलसहित दुई पाखे गरी निर्माण गरिएको छ । महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।
प्रतिक्रिया