Logo

Breaking News 1

आर्मी र गण्डकी महिला हक्की प्रतियोगिताको उपाधिनजिक



काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार उपाधिनजिक पुगेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकालेको थियो । आज गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । यो खेलले नै उपाधि विजेताको टुङ्गो लगाउनेछ । लिगमा समान दुई खेल खेलेका बागमती र मधेशले भने अंक जोड्न सकेका छैनन् ।

चार टोली सहभागी महिलातर्पm लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ । समान दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ । राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लबमाथि ३–० को जित निकाल्यो । पुलिसका नवराज खत्रीले ह्याट्रिक गरे ।

जितसँगै चार टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समान दुई खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको तीन अंक छ । समान दुई खेलबाट एपिएफ र बागमतीको समान एक अंक छ । यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

पुरुषको अर्को खेलमा कोसी र गण्डकीले ३–३ गोलको बराबरी खेले । कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान एक गोल गरे । गण्डकीका लागि भने दीपक तामाङले दुई तथा संगम घर्ति मगरले एक गोल गरे । दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे ।

तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो । समान दुई खेलबाट आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट कोसीको ४ अंक, गण्डकीको एक अंक छ भने मधेश अंकविहीन छ । अब कोशी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ०२ बजे