काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताएका छन् । शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताए ।
उनले भने, ‘मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा सबै पक्षको महत्वपूर्ण भूमिका रहनुपर्छ । संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिन्छ । यसको लागि हाम्रो मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको कुरा व्यक्त गर्न चाहान्छु । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न हाम्रो साझा दायित्व हो र मन्त्रालय यस संस्कृतिको बैभव पुन फर्काउने गरि काम गरिरहेको छ ।’
यस्तै, उनले मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि देश नेपाल भएको भन्दै यी गौरवमय सभ्यता र इतिहासले नेपाललाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको बताए । उनले भने, ‘मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास गौरवमय छ नेपाल राज्यको विशेषता यही हो कि यसमा मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि हाम्रो देश हो । यी गौरवमय सभ्यता र इतिहासले नै हामीलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएका छन् ।’
मिथिला संस्कृतिले बोकेको सभ्यता र विभिन्न आयामहरु आफंैमा अनुकरणिय र निकै महत्वपूर्ण रहेको पनि उनको भनाई छ । उनले भने, ‘मैथली भाषा नेपालमा बोलीने भाषामध्ये दोस्रो पनि हो । मलाई एकदमै मन पनि पर्छ । मिथिला सभ्यताले बोकेको सभ्यता र विभिन्न आयामहरु त्यो आफैंमा अनुकरणिय छन् र निकै महत्वका छन् । हामी सबैले सम्मान गर्नुपर्ने खालका छन् । सिता माता हाम्रो लागि आदर्श पात्रको रुपमा हुनुहुन्छ । हाम्रो इतिहास र विगतलाई हेर्दा सभ्यता र आदर्शको हिसाबले मान सम्मान गर्नुपर्ने पात्रको रुपमा पनि सिता हुनुहुन्छ ।’
प्रतिक्रिया