काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको बताएका छन् । विधायिकी अन्तरसम्बन्ध र कानुनको मापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले तीनै तहले आफ्नो आवश्यकता अनुसार कानुन बनाउने कुरा, ऐन बनाउने कुरा संविधानमै तोकिएकोले ती कानुनहरु बनाउन मन्त्रालय सक्रिय रहेको बताएका हुन् ।
उनले भने, ‘तीनै तहले आफ्नो आवश्यकता अनुसार कानुन बनाउने कुरा, ऐन बनाउने कुरा तोकिएको छ । ती कानुनहरु जसमा संघीय कानुनहरुसँग एक अर्काको अधिकारसँग बाझिनु हुँदैन भन्ने कुरा पनि संविधानले व्यवस्था गरेको छ । संघ, प्रदेश र स्थानिय तहको अन्तरसम्बन्ध सम्बन्धि कुरा छ ती सम्बन्धमा कानुन बनाउने कुरा छ, ती कानुनहरु कानुन मन्त्रालयले पनि बनाउने कार्य गरिरहेको छ । कानुन मन्त्रालयले संविधान जारी भएपछि २१४ वटा ऐन बनाई सकेको छ । आवश्यकता अनुसार थप कानुनहरु बनाउने व्यवस्थामा हामी लागेका छौं ।’
साथै, उनले कानुन बनाउने कुरामा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्ने बताए । उनले कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश र स्थानिय तह सम्बन्धि कानुन बनाउनुपर्ने बताए । उनले भने, ‘कानुन बनाउने कुरा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्छ । कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश सम्बन्धि कानुन बनाउनुपर्यो । अन्तरसम्बन्ध सम्बन्धी कानुन बनाउनुपर्यो, स्थानिय तह सम्बन्धी कानुन केही बनाउनुपर्यो ।’
प्रतिक्रिया