काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित चेकपोस्टबाट प्रहरीले ४५ ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख ३३६२ नम्बरको यात्रुबाहक बसलाई २०८२ साल वैशाख १८ गते दिउँसो १२:४५ बजे चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरिएको हो।
पक्राउ परेका भारतीय नागरिकहरूमा दार्जिलिङ, नक्सालबाडी घर भई हाल काठमाडौं बसोबास गर्दै आएका ३८ वर्षीय कृष्ण रोय र २१ वर्षीय सायोन दास रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले बोकेको लागुऔषध नुवाकोट, लिखु गाउँपालिका–६ निवासी ३४ वर्षीय राजु लामाले ल्याउन लगाएको खुलेपछि प्रहरीले लामालाई काठमाडौंको बालाजु बसपार्कबाट पक्राउ गरेको हो।
तीनैजनामाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। बरामद गरिएको पदार्थ खैरो हेरोइन हुनसक्ने अनुमान गरिएको छ, जसको प्रयोग तथा कारोबार नेपाली कानूनअनुसार दण्डनीय अपराध हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिक्रिया