Logo

Breaking News 1

श्रमिकहरु भन्छन्- पाका नेताहरुले ‘उल्लु’ बनाए, हाम्रा लागि केही गरेनन्


१९ बैशाख २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । बिहीबार एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइयो । यत्तिका वर्षमा विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थामा परिवर्तनसँग दिवस मनाउने शैली पनि परिवर्तन भएको छ । तर हरेक परिवर्तनका नायक अर्थात श्रमिकहरुको अवस्थामा भने ज्यूँकात्यूँ रहेको पाइन्छ ।

अझै पनि श्रमिकहरुका समस्या, गुनासा उही पुरानै छन् । न्यूनतम पारिश्रमिक बढ्न नसक्नु ,श्रमको ग्यारेन्टी र श्रमिकको सुरक्षा नहुनु जस्ता समस्याले श्रमिकहरु ग्रस्त छन् । जुनै सरकार आए पनि श्रमिहरुको हक हितको लागि पर्याप्त काम नगरेको उनीहरुको गुनासो छ । विगत १५ वर्षदेखि रङ लगाउने काम गर्दै आएका जनकपुरका श्रमिक धर्मेन्द्र बैठा सरकारबाट अब आफूहरुले आशा मारेको सुनाउँछन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले श्रमिकहरुको गुनासा सरकारले सुन्न नसकेको भन्दै अब नयाँ युवाहरु नेतृत्वमा आउनुपर्ने बताए । पूराना राजनीतिक दलहरुले सत्ता चलाउँदासम्म श्रमिकको अवस्थामा परिवर्तन नआउने उनको भनाई छ ।
उनले भने,‘रङको काम गर्न लागेको १५ वर्ष भयो । हामीलाई सरकारको केही आशा नै छैन् । सरकारलाई भनेर पनि केही गर्ने होइन् । आफ्ना कुरा जति सुनाए पनि सरकारले केही गर्दैन् । आफूखुशी गर्छ,’ उनले अगाडि भने,‘एमसीसीकै कुरा गर्दा पूरै देशका नागरिकले विरोध गर्दा पास भयो । श्रमिकहरुको हक हितको लागि सरकारले केही काम गर्न सकेको छैन् ।

हालका पाका नेताहरु नहटेसम्म केही हुँदैन् । नयाँ युवाहरु जबसम्म आउँदैनन् तबसम्म देशको हालत यस्तै नै हुन्छ । पार्टीले देश बन्दैन्, व्यक्तिले बनाउनुपर्यो । पार्टीले त हामीलाई उल्लु बनाउँछन् र पार्टी भित्रभित्रै एक भइहाल्छन् आखिर हामी जनता उल्लु हुने हो ।’ त्यस्तै धादिङकी श्रमिक सरिता राणा मगरको पनि गुनासो उस्तै छ । बिहानदेखि दिनभरी काम गर्दा आठ सय कमाई हुँदा सन्तुष्ट हुने अवस्था नरेको उनी बताउँछिन् । किनकी नियमित काम पाउन सकिँदैन् । सरकारले न्यूनतम पारिश्रमिक नबढाएको कारण जति छ त्यसैमा चित्त बुझाउने अवस्था रहेको उनले दुखेसो पोखिन् ।

‘घरमा काम गर्न थालेको चारपाँच वर्ष भयो । विहानदेखि बेलुकीसम्म घोटिदा आठ सय रुपैंयाँ दिन्छ । कोही पुरुषहरुको मेरो भन्दा धेरै नै छ । पारिश्रमिक बढाउनुपर्ने हो बढेको छैन् । यसैमा चित्त बुझाउनु परेको छ । यस्तै काम सँधै पनि हुँदैन् । सँधै काम भएन भने त परिवार पाल्न पनि पुग्दैन् ।’ त्यस्तै भक्तपुरका श्रमिक जगदीश श्रेष्ठले श्रमिकहरुको सुरक्षाको विषयलाई उठाएका छन् । दुर्घटनामा पर्दा व्यहोर्ने कुनैपनि सम्बन्धित जिम्मेवार निकाय नहुँदा आफूहरु मारमा परेको उनले सुनाए ।
उनले पनि नयाँ युवाहरु नेतृत्वमा आए मात्रै श्रमिकहरुको जीवनमा परिवर्तनको आशाको दियो बाल्न सक्ने धारणा राखे ।

उनले भने,‘अहिले श्रमिकहरुको समस्या नै समस्या रहेको छन् । एक त काम पाउन नै कठिन छ । नियमित काम गर्छु भन्दापनि पाउने अवस्था छैन् । न्यूनतम पारिश्रमिक १७ हजारले त केही हुँदैन् । बालबच्चा पढाउनै पर्यो, आफूले पनि खान पर्यो । सरकारले हेरेको भए यस्तो अवस्था श्रमिकको हुने नै थिएन । नयाँ तरिकारले नै जानुपर्छ । नयाँ नेतृत्व युवाहरु नै आउनुपर्छ । सरकारले केही पनि गर्दैन् । काम गर्दा दुर्घटना हुन्छ, त्यसको सुरक्षा छैन् । दुर्घटनामा परेर साढे दुई लाख खर्च भयो तर कम्पनीले ५० हजार मात्र दियो । यस्तै छ हाम्रो हाल ।’

प्रमिला कार्की, आकांक्षा धामी /नेपाल न्यूज बैंक

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ९ : ०३ बजे