Logo

मुख्य समाचार

पूर्वराष्ट्रपति भण्डारीको भनाइ : “बाँकी जीवन राष्ट्रका सेवामा समर्पित हुनेछ”



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो बाँकी जीवन राष्ट्रसेवामा समर्पण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

राष्ट्रिय समाचार समिति (रासस)ले सार्वजनिक गरेको ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ विमोचन कार्यक्रममा बोल्दै उनले निजी जीवनको उत्तरार्द्ध राष्ट्रको हितमा खर्च गर्ने इच्छा व्यक्त गरिन्। “गृहस्थ जीवन पूरा गरिसकेको हुँ, अब बाँकी जीवन राष्ट्रका निम्ति समर्पित हुनेछ,” भण्डारीले भनिन्।

कार्यक्रममा उनले सरकार सञ्चालनमा राजनीतिक दलहरू अत्यधिक दलकेन्द्रित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै, अब राष्ट्रिय आकांक्षा के हो भन्ने प्रश्नमा सबैले ध्यान दिनु जरुरी रहेको बताइन्। “व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि उठेर राष्ट्रिय हितका विषयमा सोच्नुपर्ने बेला आएको छ,” उनले थपे।

राजनीतिक स्थायित्वका लागि सहमतिमूलक दिगो कार्यक्रम आवश्यक रहेको बताउँदै पूर्वराष्ट्रपतिले कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था, सरकारको बारम्बार परिवर्तन, साना दलको बार्गेनिङ प्रवृत्तिलाई सुधार गर्नुपर्ने धारणा राखिन्।

उनले पछिल्लो समय बढ्दो बसाइँसराइ लगायतका चुनौतीलाई सम्बोधन गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरिन्। साथै, नयाँ पुस्ताको तीव्र विकास चाहनालाई ध्यानमा राख्दै राज्यले शिक्षा, स्वास्थ्य र समग्र विकासको परिभाषा फेरि सोच्नुपर्ने सुझाव पनि दिइन्।

निर्वाचन प्रणालीमा त्रुटि नभएको स्पष्ट गर्दै उनले भने, “धेरै पार्टीले जित्दा पनि राष्ट्रिय हितमा असर पर्दैन। जो जिते पनि, नेपाली नै जित्ने हुन्। पाँच वर्ष मिलेर जान सकिन्छ।”

उनको भनाइ अनुसार मुलुकको वर्तमान विकास मोडेल, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार आवश्यक रहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : २४ बजे