काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने भएको छ। विश्व मजदुर दिवसको अवसरमा आयोजना हुने उक्त मेलामार्फत सिपयुक्त जनशक्ति उत्पादन गर्दै सुरक्षित, व्यवस्थित र दिगो श्रम बजारको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। मेलामा २ हजार ८२ जनालाई प्रत्यक्ष सहभागी गराउने योजना रहेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिएका छन्। उनका अनुसार सिपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी सम्भव हुने, उत्पादनमा वृद्धि भई मुलुकको समृद्धिमा योगदान पुग्ने विश्वास लिएको छ।
उक्त मेला काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ बाट सुरु गरेको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम अन्तर्गत आयोजना गरिँदैछ, जसअन्तर्गत १५ हजार युवालाई सिपमूलक तालिम प्रदान गरी कम्तीमा ५ हजार जनालाई रोजगारी वा स्वरोजगारमा समावेश गरिने लक्ष्य राखिएको छ। तालिममार्फत सिप नजानेकालाई सिप सिकाइने र आधारभूत सिप भएकालाई थप स्तरोन्नति गराई बजारसँग जोडिने योजना छ। मेला पहिलोपटक २०८१ सालमा सुरु भएको थियो, जसमा ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए र २ हजार ५७५ जनाले तालिम प्राप्त गरेका थिए। तीमध्ये धेरैजसो व्यक्तिहरू रोजगारमा आबद्ध भइसकेका छन् भने बाँकीलाई ‘अन द जब ट्रेनिङ’ प्रणालीमार्फत उद्योग र कम्पनीहरूसँगको समन्वयमा सिप प्रदान गरिँदैछ।
महानगरका अनुसार हाल श्रम बजारमा आवश्यक सिपयुक्त जनशक्ति र उपलब्ध जनशक्तिबीच ठूलो खाडल रहेको छ, जसका कारण धेरै युवा वैदेशिक रोजगारीतर्फ आकर्षित हुन बाध्य छन्। यो प्रवृत्तिलाई रोक्न सिप मेला प्रभावकारी हुने महानगरको अपेक्षा छ, र यसै अनुरूप नियमित तालिमहरू पनि सञ्चालनमा छन्। यसपटक तालिमका लागि अघिल्लो वर्ष तालिम नपाएका आवेदक, काठमाडौंमा स्थायी वा अस्थायी बसोबास गर्ने नागरिक, ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडक वा ठेला व्यवसायमा संलग्न व्यक्तिहरूलाई प्राथमिकतामा राखिनेछ।
वातावरण व्यवस्थापन विभागका अनुसार धुनिवेँसी नगरपालिका–१, ३, ४ र ककनी गाउँपालिका–१, २, ३ नम्बर वडाहरू प्रत्यक्ष प्रभावित क्षेत्र हुन्। यस वर्ष उद्योग, श्रम बजार र समाजको आवश्यकतालाई ध्यानमा राख्दै १० विधामा आधारित ३० पेशासँग सम्बन्धित तालिम सञ्चालन गरिनेछ। काठमाडौं महानगरपालिकाले मेलामार्फत रोजगारी, उद्यमशिलता र सामाजिक समावेशीताको प्रवर्द्धन हुने विश्वास लिएको छ।
प्रतिक्रिया