Logo

मुख्य समाचार

महिमान सिंह विष्टको स्वीकारोक्ति : “रेशम चौधरीको पक्राउको पत्र होसमा लेखेको हुँ, सजाय भोग्न तयार छु”



काठमाडौं । सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्टले पूर्व सांसद रेशम चौधरीको पक्राउ सम्बन्धी पत्र आफूले ‘होसमा’ लेखेको स्वीकार गरेका छन्। प्रहरी हिरासतमा रहेका विष्टले प्रारम्भिक बयानमा पत्र लेख्ने निर्णय आफ्नो स्वतन्त्र इच्छाबाट भएको र त्यसको जिम्मेवारी लिन तयार रहेको बताएका छन्।

स्रोतका अनुसार विष्टले उक्त पत्र लेखेर सर्वोच्च अदालतमा खटिएका प्रहरीको सहयोगमा कारागारसम्म आफैँ पुर्‍याएको बयान दिएका छन्। विष्टले चौधरीलाई राष्ट्रपतिबाट दिइएको आममाफी ‘पूर्णपाठ नआउँदै’ दिइएको भन्दै त्यसप्रति असहमति जनाउँदै उक्त कदमको विरोधमा पत्र लेखेको बताएका छन्।

“म आफैं पत्र लेखेको हुँ, होसमै लेखेको हुँ। जे सजाय भोग्न तयार छु,” विष्टको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले जानकारी दिएको छ। विष्टले राष्ट्रपतिबाट दिइएको आममाफी प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको भन्दै त्यसैको झोँकमा पत्र लेखेको जनाएका छन्।

विष्टले सर्वोच्च अदालतका प्रहरीलाई सहयोग मागी पत्रसहित कारागार पुगेको जानकारी पनि प्रहरी स्रोतले दिएको छ। अहिले विष्टविरुद्ध के कारबाही गर्ने भन्नेबारे प्रहरी र सरोकारवाला निकायहरू आन्तरिक छलफलमा जुटेका छन्।

यसअघि विष्टले लेखेको पत्र आधिकारिक नभएको ठहर गर्दै उनलाई प्रहरीले हिरासतमा लिएको थियो।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ५१ बजे