Logo

खेलकुद

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन



मुलकोट । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स’ कर्पोरेट महिला क्रिकेट प्रतियोगिता जित्दै लगातार दोस्रो पटक उपाधि उचालेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सानिमा रिलायन्सले सूर्य नेपाललाई २८ रनले पराजित गर्दै च्याम्पियन बनेको हो।

मुलकोटस्थित एक रिसोर्टमा टस जितेर पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाउँदै ६० रन बनायो। जवाफमा सूर्य नेपालले ५ ओभरमा १ विकेट गुमाएर मात्र ३२ रन बनाउन सक्यो।

सानिमा रिलायन्सको जितमा कप्तान स्वस्तिका कार्कीको प्रदर्शन निर्णायक रह्यो। उत्कृष्ट प्रदर्शनका लागि उनी फाइनलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले प्रतियोगिताभर तीन पटक प्लेयर अफ द म्याच अवार्ड जित्दै ‘प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि पनि हात पारिन्।

साथै, टोलीकी अर्की खेलाडी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ द म्याच अवार्ड जितेकी थिइन्। सर्वाधिक छक्का हान्ने खेलाडीको रुपमा समेत कप्तान कार्कीले पहिचान बनाइन्।

एन इभेन्ट्सद्वारा आयोजित प्रतियोगिता वैशाख १२ र १३ गते सम्पन्न भएको थियो। प्रतियोगितामा कुल ९ टिम सहभागी थिए भने प्रत्येक खेलमा ५ ओभरको इनिङ्स खेलाइएको थियो।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ४८ बजे