कैलाली । चिसापानीस्थित कर्णाली पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। गएको फागुन २८ गते ट्रकमा लागेको आगोका कारण पुलको स्टेड केबुलमा क्षति पुगेपछि एकतर्फी यातायात सञ्चालन गर्दै मर्मत कार्य थालिएको थियो।
डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टका अनुसार तीन साताअघि सुरु गरिएको मर्मत कार्य आगामी साताभित्र सम्पन्न हुने लक्ष्य रहेको छ। आगलागीबाट पुलका १४ वटा केबुलमा क्षति पुगेको थियो। मर्मतका लागि सडक कार्यालयका प्रमुखसहित चार जना प्राविधिक तथा निर्माण व्यवसायीबाट दुई जना विशेषज्ञ परिचालन गरिएको छ।
“मर्मतमा १० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ,” प्रमुख भट्टले जानकारी दिए।
सन् १९९४ मा निर्माण सुरु भई सन् २००१ मा सम्पन्न भएको यो अत्याधुनिक पुल एकतर्फी स्टेड केबुल प्रविधिमा आधारित छ। पाँच सय मिटर लम्बाइ भएको पुलको टावरको उचाइ १२० मिटर छ भने पश्चिमतर्फ ३२५ र पूर्वतर्फ १७५ मिटर फैलिएको छ।
डबल लेन भएको पुलको चौडाइ ११.३ मिटर रहेको छ। पुलको स्टिल संरचनामा रंगरोगन हालसम्म नगरेको र यस वर्षभित्र त्यसको तयारी भइरहेको पुल महाशाखाले जनाएको छ।
पुल निर्माणमा नेपालसहित अमेरिका, भारत, थाइल्याण्ड, श्रीलंका लगायत १४ देशका प्राविधिकको सहभागिता रहेको थियो। निर्माण लागत ३६ करोड २४ लाख रुपैयाँ पुगेको यो पुल सञ्चालनमा आएदेखि अहिलेसम्म थुप्रै समस्या भोग्दै आएको छ।
प्रतिक्रिया